काठमाडौं। भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले तिव्रता पाएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ ।
अहिले बिम स्लाब उठाउने कार्य सुरु भैरहेको छ । पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार विभिन्न खण्डका कार्यहरू समानान्तर रूपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने छ ।
हाल पुनर्निर्माणका क्रममा रहेको धरहारा २९ रोपनी क्षेत्रफलमा फैलिनेछ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् । नयाँ धरहरामा अब लिफ्टबाट नै ‘टप’ मा पुग्ने व्यवस्था हुने जनाइएको छ ।
धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुने बताइएको छ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट पनि बनाइने भएको छ । धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियमसमेत बनाइनेछ ।




