काठमाडाैँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू मंगलबार दिउँसो करिब १ बजेको आसपासतिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जम्मा भए। जम्मा भएको केही क्षणपछि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली इन्टरनेटको भिडियो सर्भिसमा देखिए।
स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच यस्तो कुराकानी भएको थियो।
तर, यसलाई मन्त्रिपरिषद्को बैठक भनिएन। प्रधानमन्त्री ओलीले दोस्रोचोटि सिंगापुरबाट आफ्नो क्याबिनेटका सदस्यहरूसँग सरकारका कामबारेमा छलफल गरे। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट गर्दै भने– ‘उहाँले आफ्नो उपचारबारे जानकारी दिनुभएको छ।
मन्त्रीज्यूहरूले आफ्नो कामबारे प्रमलाई अपडेट गर्नुहुने योजना।’भदौ ९ गते भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीलाई प्रधानमन्त्री स्वयं र राजनीतिक सल्लाहकार रिमालले मन्त्रिपरिषद्को बैठक भनेका थिए ।
यसले गर्दा त्यसको वैधानिकता, सुरक्षालाई लिएर संसद् हुँदै सार्वजनिक सभा, समारोहमा समेत टीका–टिप्पणी भएको थियो। प्रमुख प्रतिपक्षी कांग्रेसले आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचना चुहिने भन्दै विरोध गरेको थियो।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।




