काठमाडौँ । त्रिशुलीमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनको संख्या आठ पुगेको छ । सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाडौं आउँदै गरेको बस हिजो साढे ३ बजे त्रिशुली नदीमा खसेको थियो ।
४५ यात्रु लिएर काठमाडौंका लागि छुटेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटको त्रिशूली नदीमा खसेको थियो । मृतकमध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै सनाखत भएको छ भने अन्यको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख राजकुमार वैदवारले जानकारी दिए।
अन्य वेपत्ता भएकाहरुको भने गोताखोरको टोलीबाट खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए। वेपत्ताहरु नभेटिएकाले चितवन, नवलपरासी जिल्लाको नदिकिनारमा पनि खोजिको लागि प्रहरी परिचालन गरिएको उनको भनाइ छ । वेपत्तामध्ये केही भारतिय नागरिक पनि रहेको प्रहरीले जनाएको छ । धादिङ धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ ।
एक वर्षको अवधिमा जिल्लामा १ सय ४४ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी ९८ जनाको मृत्यु भएको छ भने अहिले सम्म १ सय ९१ जना गम्भिर घाईते भएका छन् ।




