बेल रियल मड्रिडको टिमबाट बाहिर

काठमाडाैँ । ग्यारेथ बेल रियल मड्रिडको प्रि–सिजन भ्रमण अन्तर्गत म्युनिखका लागि तय गरिएको टिमबाट बाहिर निकालिएका छन् ।

बेलको चिनियाँ क्लबसँगको सम्भावित सम्झौता अन्तिम समयमा आएर रोकिएपछि उनी म्युनिख भ्रमणका लागि तय भएको टिमबाट बाहिर निकालिएका हुन् ।

बेल अहिले खेल्न सक्ने मानसिक अवस्थामा नरहेको बताइएको छ । रियल मड्रिडका फ्लोरेन्टिनो पेरेजले चिनियाँ क्लब जियाङ्ग सुनइङ्गसँगको बेलको सम्भावित सम्झौता अन्तिम समयमा आएर रोकेका थिए । बेल तत्कालका लागि रियल मड्रिडमै रहने निश्चित भएको छ ।

वेल्सका ३० वर्षे बेल तीन वर्षको सम्झौतामा चिनियाँ क्लब जियाङ्ग सुनइङ्ग जाने तयारी थियो । उनले हप्ताको १० लाख पाउण्ड पारिश्रमिक पाउने गरी सम्झौताको तयारी भएको थियो । तर रियल मड्रिड अन्तिम समयमा सम्झौताबाट पछि हटेको हो ।

गएको हप्ता रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान रियल मड्रिड छोड्ने अन्तिम चरणमा रहेको र आफूहरुले उनको बर्हिगमनका लागि प्रयास गरिरहेको बताएका थिए । उनले बेलको बर्हिगमन सबैका लागि उपयुक्त हुने पनि बताएका थिए ।

बेल सन् २०१३ मा त्यो बेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा टोटनह्यामबाट रियल मड्रिडमा अनुबन्धित भएका हुन् । रियल मड्रिडसँगको उनको सम्झौता अझै तीन वर्ष बाँकी छ ।

रियल मड्रिडले चिनियाँ क्लबसँग बेलका लागि ट्रान्सफर फि मागेको र चिनियाँ क्लबले दिन नचाहेकाले रियलले बेलको ट्रान्सफर रोकेको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री