काठमाडाैँ । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कुवेतले दिएको १४२ रनको लक्ष्य १६ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान पारस खड्काले ६८ रनको अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ११ चौका र १ छक्कासहित ६८ रन बनाएका हुन् ।
त्यस्तै शरद भेषावकरले ३८ रन बनाए । उनले ३० बलमा ४ चाैका र १ छक्कासहित ३८ रन बनाएका हुन् । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा १९ रन बनाएर आउट भए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतविरुद्ध खेलिरहेको नेपालले जितका लागि १४२ रनको लक्ष्य पाएको थियो ।
सिंगापुरको इन्डियन एसोसियशन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४१ रनको सम्मानित योगफल खडा गरेको थियो । नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिँदा अविनाश बोहोराले १ विकेट लिए ।
जितसँगै नेपाल टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो भएको छ । भने कुवेत प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले आइतबारको खेलमा सिंगापुरलाई हराएमा विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ ।




