काठमाडौँ । व्यवसायीहरूले चिनी आयात रोक्न फेरि चलखेल सुरु गरेका छन् । चिनी उद्योगीले स्वदेशी उत्पादन पर्याप्त मौज्दात रहेको जनाउँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयमा लबिङ सुरु गरेका हुन् । चिनी उद्योगलाई संरक्षण गर्ने नाममा गत असार मसान्तसम्म लगाइएको बन्देज साउन १ गतेदेखि स्वतः हटेपछि पुनः चलखेल सुरु भएको हो । आयात रोक्न चिनी उद्योग संघले मन्त्रालयमा निवेदन दिएको छ ।
स्वदेशी उद्योगमा असार २०७६ असार ३१ गतेसम्म १ लाख १ हजार ८ सय ७६ टन चिनी मौज्दात रहेको र साल्ट ट्रेडिङ कर्पोरेसन्ससँग ५ हजार टन गरी १ लाख ६ हजार ८ सय ७६ टन चिनी स्वदेशमा मौज्दात रहेको संघका उपाध्यक्ष राजकुमार अग्रावलले बताए । यस परिप्रेक्ष्यमा चिनी आयात गर्नुपर्ने आवश्यकता नरहेको देखिन्छ । सरकार आफैं वा सरकारको अर्ध स्वामित्वमा रहेका निकायहरूमार्फत बफर स्टक राख्नका लागि बढीमा १० हजारदेखि १५ हजार टन चिनी आयात गर्न उपयुक्त देखिएको छ ।
उद्योगीसँग करिब १ लाख टन स्टक छ । बजारमा थप २०/३० हजार टन छ । साउन र भदौसम्म आयात खोल्नु हुँदैन,’ संघका अध्यक्ष शशि अग्रावलले भने, ‘असोजको पहिलो साता चिनीको अवस्था बुझेर १५ देखि २० हजार टन आयात गर्न दिए हुन्थ्यो । हचुवाको भरमा आयात खुला हुँदा उद्योगीले किसानलाई मूल्य तिर्न सक्दैनन् ।’ संघका अनुसार चिनीको मासिक खपत २० हजार टन हो । साउन, भदौ, असोज र कात्तिकका लागि ८० हजार टन र मंसिरको १५ दिनका लागि १० हजार टन चाहिन्छ । दसैंतिहारका लागि थप १० हजार टन गरी १ लाख टन चिनीको आवश्यकता हुने संघको दाबी छ ।



