काठमाडौँ । काठमाडौं महानगरपालिमा आगामी आर्थिक वर्षभित्र बिजुली बस चल्ने भएको छ । प्रदेश नम्बर ३, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडसँग भएको सहमति अनुसार यही वर्षभित्र बस ल्याइ सकिनेछ ।
सम्झौता अनुसार आगामी वर्षभित्र विद्युतबाट चल्ने बस ल्याउनेबारे चार पक्ष सहमत भएको ललितपुर महानगपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए । काठमाडौं महानगरले १० करोड र ललितपुर महानगरले अढाइ करोड रूपैयाँ प्रदान गर्ने सम्झौता भएको मेयर महर्जनले बताए । महालक्ष्मी नगरपालिकाले २५ लाख र साझाले पनि अढाइ करोड खर्चेर बस किन्नेछ । प्रदेश नं. ३ बाट ३० करोड रूपैयाँ दिइनेछ ।
उनका अनुसार सोमबारदेखि नै कागजी प्रक्रिया पनि सुरु भएको छ । यसै वर्ष टेन्डर आहृवान गरी आउँदो आर्थिक वर्ष सुरु नहुँदै बिजुली बस सडकमा गुड्नेछन् । साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरले विद्युत बसको प्रभावकारिता र काम हेरेपछि यस्तै बस थप्ने योजना रहेको जानकारी दिए ।
उनले अहिलेको ४५ करोड रुपैयाँले ३० वटा आउने बताए । उनले ५ वटा बस चार्ज गर्न मिल्ने स्टेशन छँदैछ भन्दै थप बस आएपछि कठिनाइ नहुने बताए । नेपाल विद्युत प्राधिकरणसँग यस विषयमा वार्ता हुँदा आवश्यक बिजुली उपलब्ध गराउने मौखिक सहमति भएको उनको भनाइ छ ।




