काठमाडौं– राजधानी काठमाडौंका २ ठाउँमा भएका छुट्टा–छुट्टै विस्फोटमा परेर ३ जनाको मृत्यु भएको छ । बुढानीलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक सैलुन पसलमा भएको विस्फोटमा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेलका सुरेन्द्र महर्जन छन् ।
सैलुन पसलमा विस्फोट हुँदा १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो ।
यस्तै अनमानगर (घट्टेकुलो) क्षेत्रको संगम गल्लीमा भएको विस्फोटमा १ जनाको मृत्यु भएको छ । घट्टेकुलोको विस्फोटमा घाइते भएका १ जनाको भने पहिचान खुलेको छ । रुकुमको सानोभेरी गाउँपालिका घर भएका २६ वर्षीय रविन केसी घाइते छन् । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
दिएको जानकारी अनुसार अनामनगरको संगम गल्लीमा भएको विस्फोटमा नेत्रबिक्रम चन्द (विप्लव) समूहको संलग्नता छ । प्रहरीका कारबाही गर्दा भोजपुरमा गोली लागि आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा विप्लव समूहले (सोमबार) नेपाल बन्द आह्वान गरेको छ ।
घट्टेकुलोमा विस्फोट भएको स्थानबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार आह्वान गरेको बन्दको पर्चा फेला परेको प्रहरीले वताएको छ ।




