ललितपुर। पछिल्लो समय धारिलो हतियार प्रयोग गरी बीभत्स तबरले हत्या गरिएको घटना बढ्नुमा तनावलाई सजिलै व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको मनोविश्लेषकहरूले बताएका छन् । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ को आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या भएको घटना होस् या ललितपुरको गोदावरी र ढोलाहिटीमा भएको हत्या, यी सबैमा धारिलो हतियार प्रयोग भएका छन् ।
यी सबै घटनामा बीभत्स तबरले हतियारको प्रयोग गरेर हत्या गरेको पाइएको छ । मानसिक सचेतना एवं अनुसन्धान केन्द्रका मनोविद् गोपाल ढकालका अनुसार यसरी भएका पछिल्ला घटनामा मानसिक समस्या नै मुख्य कारण रहेको छ ।
उनीहरूले आफ्नो रिस, तनाव, शंका र भ्रमलाई आफ्नो नियन्त्रणमा लिन सक्दैनन्, मनोविद् ढकालले भने, ‘जसका कारण उनीहरू आक्रामक बन्छन्, अरूलाई पनि असर गर्छन् र आफूलाई पनि असर पार्छन् । केही दिनअघि गोदावरीमा एक श्रीमान्ले हतियार प्रयोग गरेर श्रीमतीको हत्या गरेका थिए भने ढोलाहिटीमा जेठाजुले आफ्नै भाइ बुहारीमाथि खुकुरी प्रहार गरी बीभत्स हत्या गरेका थिए ।
६ जेठको सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको होे । योे घटनाको हत्यारा पत्ता नलागे पनि अनुसन्धानमा जनाइएअनुसार आशंका गरिएका हत्याराले आत्महत्या गरेका छन् ।
प्रतिकृया दिनुहॊस