काठमाडौं । अभिनेत्री श्वेता खड्काको स्वास्थ्यस्थितमा सुधार नआएका कारण उनको ठाउँमा चलचित्र ‘हेलो जिन्दगी’मा अर्की नायिका अनुबन्धित भएकी छन् ।
अभिनेत्री श्वेताकै सल्लाहमा उनको भूमिकामा अर्की अभिनेत्री प्रियंका कार्कीलाई अनुबन्धित गरिएको हो । स्वेताको स्वास्थ्यमा सुधार आएपछि यो चलचित्रको बाँकी छायांकन गरिने भन्दै तीन सातादेखि यसको सुटिङ स्थगित गरिएको थियो । तर, आफ्नो स्वास्थ्यमा सोचेअनुसारको सुधार नआएको भन्दै स्वेताले अन्य नायिका राख्न निर्देशक सूर्य बोहरालाई सल्लाह दिइन् ।
नायिका परिवर्तन गरिएको विषयमा निर्देशक सूर्य बोहराले भने, ‘सुटिङका लागि श्वेतालाई हामी अझै केही समय कुर्न तयार थियौं । तर, उहाँले आफ्नो स्वास्थ्य ठीक हुन चार महिनादेखि एक वर्षसम्म पनि लाग्न सक्ने बताएपछि उहाँकै सल्लाहमा नायिका प्रियंका कार्कीलाई अनुबन्धित गरेका हौं ।’ उनले अगाडि थपे, ‘चलचित्र हेलो जिन्दगीमा श्वेताजीले धेरै मेहनत गर्नुभएको छ र केही दिन उहाँको सुटिङ पनि गरियो । अब उहाँलाई एउटा गीतमा भए पनि हामी सिनेमा रिलिज हुनुअघिसम्म अभिनय गराउने छौं ।’ उनले श्वेता शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।
यसरी एउटा गीतमा भए पनि अभियन गरिदिन हेलो जिन्दगीको निर्देशक बोहराले गरेको आग्रहलाई उनले स्विकारेकी छन् ।



