काठमाडाैँ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ मा शनिबार बिहान एक महिला नग्न अवस्थामा मृत फेला परेकी छन्। स्थानीय पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्ने २९ वर्षीया रीना बस्नेत मृत भेटिएकी हुन्।
शव नग्न अवस्थामा भेटिएकाले बस्नेतको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। रीनाको टाउकोमा गहिरो चोट देखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको पथरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाइँले बताए।
स्थानीयका अनुसार मृतक बस्नेतका पति वैदेशिक रोजगारीमा छन्। १४ वर्षीय छोराका साथ उनी पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन्।
शुक्रबार राति पथरी बजारमा आयोजित सांस्कृतिक कार्यक्रममा छोरासहित पुगेकी उनी राति घर फर्किएकी थिइन्। शनिबार बिहान डेरानजिकै उनको शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
रीनाले रक्सी खाएको पाइएको प्रहरीले जनाएको छ। उनको भित्री वस्त्र भने कोठामै भेटिएको प्रहरीको भनाइ छ।



