काठमाडाैँ । बाथ एक किसिमको अर्थाइटिस हो । यसलाई सामान्य भाषामा जोर्नी दुख्ने वा सुन्निने रोग भनिन्छ । बाथ जुनसुकै उमेरका व्यक्तिमा हुन सक्छ भने जुनसुकै अंगमा पनि । खासगरी महिला, वृद्धवृद्धा र मोटोपन भएका मानिस बाथरोगबाट बढी पीडित भएको पाइन्छ । बाथरोग सयभन्दा बढी किसिमका हुन्छन् । मुख्यतया तीन किसिमका छन् ।
किसिम
१. ओस्टियो अर्थाइटिस
ओस्टियो अर्थाइटिस सबैभन्दा बढी पाइने बाथरोग हो । खासगरी बुढ्यौली र अन्य चोटपटक वा संक्रमणका कारण जोर्नी खिइने प्रकियालाई ओस्टियो अर्थाइटिस भनिन्छ । यसबाहेक, जोर्नीसम्बन्धी विभिन्न रोगका कारण पनि जोर्नी खिइने समस्या हुन सक्छ । ओस्टियो अर्थाइटिसको पूर्ण उपचार प्रायः सम्भव हुँदैन । यसका लागि फिजियोथेरापी र दुखाइ कम गर्ने औषधि सेवन गर्नुपर्ने हुन्छ । यो समस्या ( जोर्नी खिइने) अन्तिम चरणमा पुगिसकेको अवस्थामा जोर्नी फेरेर उपचार गर्न सकिन्छ ।
२. गठिया बाथ
बाथरोगमध्ये सबैभन्दा घातक गठिया बाथ हो । जसले छोटो समयमा नै जोर्नीमा असर पु¥याएर अंगहरूमा विकार ल्याउने गर्छ । यस्तो अवस्थामा रोगसँग लड्ने प्रतिरोधी क्षमताले नै बाथरोग निम्त्याउँछ । रगतमा बाथरोगको लक्षण सिर्जना हुन्छ । बिस्तारै जोर्नीलाई खाने काम गर्छ । गठिया बाथ दुई प्रकारका हुन्छन् । सिरो पोजेटिभ र सिरो नेगेटिभ स्पोन्डिलो अर्थाइटिस ।
३. युरिक एसिड
युरिक एसिड शरीरमा हुने विकार वस्तु हो । जो कलेजोले उत्पादन गरेर मिर्गौलाको माध्यमबाट बाहिर फालिन्छ । कतिपय अवस्थामा युरिक एसिड बढी नै उत्पादन हुन्छ, जसले गर्दा रगतमा जम्मा भएर जोर्नीमा गएर बस्छ । यसले गर्दा जोर्नी दुख्ने वा सुन्निने हुन्छ । खासगरी, खानपानमा ध्यान दिन नसक्दा युरिक एसिड बढिरहेको हुन्छ । त्यसैले, रातो मासु, मदिरा, चिसा पेय पदार्थ र जंकफुडजस्ता खानेकुरा खानुहुँदैन । कागती पानी, अमिला फलफूल, जेरीजस्ता खानेकुरा खाएर र प्रशस्त पानी पिएर युरिक एसिडको मात्रा घटाउन सकिन्छ ।




