काठमाडौँ । नेपालमा जल परिवहन सञ्चालनका लागि नेपाल र भारतको संयुक्त टोलीले कोशी र गण्डकी नदीमा सम्भाव्यता अध्ययन गरेको छ । अध्ययनका क्रममा टोलीले नेपालमा पानी जहाज रोकिने ठाउँ (टर्मिनल) स्थानको खोजी पनि गरेको छ । नेपालमा जल परिहवन सञ्चालनका लागि नेपाल र भारतको संयुक्त टोलीले कोशी र गण्डकी नदीमा सम्भाव्यता अध्ययन गरेको हो ।
नेपालमा जल परिवहन सञ्चालनको सम्भावना खोज्न गठित जलमार्ग अध्ययन समितिका संयोजक माधव बेल्बासे र भारतको तर्फबाट ‘इन्ल्याण्ड वाटर–वे अथोरेटी अफ इण्डिया’ का उपाध्यक्ष प्रबिर पाण्डेको नेतृत्वमा रहेको संयुक्त टोलीले कोशी र गण्डकी नदीमा जल परिवहन सञ्चालनको सम्भाव्यता अध्ययन गरेको हो । त्यसक्रममा नेपालमा पानी जहाज रोकिने ठाउँ (टर्मिनल) को समेत खोजी गरिएको उर्जा, जल तथा सिंचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए ।
नेपालतर्फको टोलीमा विभिन्न मन्त्रालयका गरी १७ जनाको सहभागिता रहेको छ भने भारतीय टोलीमा नौजना रहेका छन् । संयुुक्त टोलीले कोशीमा पानी जहाज सञ्चालनको सम्भाव्यता अध्ययन गर्नुका साथै यस नदीमा नेपालतर्फ जहाज रोकिने ठाउँ (टर्मिनल) निर्माणका लागि कोशी ब्यारेजको एक किलोमिटर दक्षिण हनुमाननगर क्षेत्रमा सम्भावित ठाउँका लागि अध्ययन गरेको जानकारी प्रवक्ता अर्यालले दिए । उनका अनुसार टोलीले दुईटै नदीको पानी, बालुवा र माटोको अवस्थाबारे समेत अध्ययन गरेको हो । त्यसैगरी, अध्ययन टोलीले नवलपरासीस्थित नारायणी नदीमा सम्भाव्यता अध्ययन सुरु गर्नुका साथै यस नदीमा नेपालतर्फ पानी जहाज रोकिने ठाउँ (टर्मिनल) निर्माणका लागि गण्डक नदीअन्तर्गत त्रिवेणी ब्यारेज क्षेत्रमा सम्भाव्यता अध्ययन गरेको हो ।
गण्डकी ब्यारेजको स्पर नं. १२ क्षेत्रमा अवलोकन गरिएको जानकारी नेपालतर्फको टोलीका प्रमुख बेलबासेले जानकारी दिए । त्रिवेणीको ब्यारेजको तल्लो क्षेत्र तथा नवलपुरको कावासोती क्षेत्रमा टर्मिनल निर्माण गर्न सकिने सम्भावना देखिएको उनले बताए।




