जिप दुर्घटनाका मृतक ११ जनाकै सनाखत (नामावलीसहित)

दार्चुला । दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनाका सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जिप दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक घाइते भएका थिए । दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा नौ दार्चुला र दुई यात्रु बैतडीका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दका अनुसार मृत्यु हुनेमा दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम,वडा नं २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनका १७ वर्षीया छोरी निर्मला (निरु) बडाल, सोही ठाउँका ३५ वर्षीया परुली धामी रहेका छन् ।

यस्तै दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम तथा बुहारी माइती घर पु¥याउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए।

जिप चालक दीपकसिंह धामी गम्भीर घाइते भएपछि गए राति नै उपचारको लागि भारतको पिथौरागढ सिफारिश गरिएको छ । उनको टाउको र खुट्टामा चोट लागेको स्वास्थ्य सहायक डम्मरदत्त भट्टले बताए । चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एकको मृत्यु भएको थियो । पहिरो गएको क्षेत्रमै जिप दुर्घटना भएको हो । जिप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर पर्छ ।

क्षमताभन्दा बढी यात्रु र सामान भएका कारण दुर्घटना भएको हुनसक्ने स्थानीय हिक्मतबहादुर बमले बताए। सो सडकखण्ड उकालो छ ।
दार्चुला–तिङ्कर सडकमा गत वर्षदेखि जिल्ला यातायात व्यवस्थापन समितिले राति जिप सञ्चालनमा रोकसमेत लगाएको थियो । विगतमा राताकाठा क्षेत्रमा जिप सञ्चालनमा रोकसमेत लगाइएको हो । साघुरो बाटो र ट्याक्टरका कारण सडक खाल्डाखुल्डी छन् ।

जिप दुर्घटनाका सबै मृतकहरुको शव जिल्ला अस्पतालमा राखिएको छ ।

यो वर्षकै ठूलो जिप दुर्घटनाका कारण जिल्ला शोकमा डुबेको छ । आफन्तहरुको अस्पतालमा रुवावासी चलेको छ । पाँच सिट पास भएको जिपमा ११ जना यात्रु बोक्नु र उकालोमा ब्रेकले काम गर्न नसक्दा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री