प्रभु बैंकको ८% बोनस सुरक्षित गर्ने आइतबार अन्तिम मौका, साधारण सभा कहिले ?

काठमाडौं । प्रभु बैंकको ८% बोनस सेयर सुरक्षित गर्ने आइतबार (फागुन ५ गते) अन्तिम दिन हो । प्रभुले साधारण सभा प्रयोजनका लागि फागुन ६ गते (सोमबार) बुक क्लोज गर्दैछ । बुक क्जोल भन्दा अघिल्लो दिन सम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।
प्रभुले फागुन १९ गते साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ८% बोनस सेयर दिन लागेको हो । बैंकले बोनसमा ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ खर्च गर्नेछ । बोनसमा लाग्ने कर तिर्न ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि छ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा दिउसो १ बजे सुरु हुनेछ ।
सेयरधनीको स्वामित्व परिवर्तन गरेर संस्थापकको ५५% र सर्वसाधारण सेयरधनीतर्फ ४५% बनाउने एजेन्डा पनि राखिनेछ । हाल यस बैंकमा संस्थापक सेयरधनीको ६१.३१% र सर्वसाधारण सेयरधनीको ३८.६९% सेयर स्वामित्व रहेको छ ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि लगिनेछ ।
 हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ छ । ८% बोनसपछि पुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३१ पैसा रहेको प्रभुको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३ पैसा छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री