सोल्सायरको अपराजित यात्रा घरेलु मैदानमा समाप्त

काठमाडाैं । म्यानचेष्टर युनाइटेडका अन्तरिम प्रशिक्षक ओले गनर सोल्सायरको अपराजित यात्रालाई मंगलबार राति ओल्ड ट्राफोर्डमा पेरिस सेन्ट जर्मन (पीएसजी)का केलियन एमबाप्पे र प्रेसनेल किमपेम्बेले टुंग्याइदिएका छन् । च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा भ्रमणकारी पीएसजीले युनाइटेडलाई २-० ले पराजित गरेको हो ।

सात मिनेटको अन्तरमा दुई गोल खाएपछि सोल्सायरको अपराजित यात्रा १२औं खेलमा टुंगिएको हो । किमपेम्बेले ५३औं मिनेटमा गरेको गोलमा पीएसजीले अग्रता लिएको थियो । एन्जेल डी मरियाले दायाँ कर्नरबाट दिएको पासलाई  किमपेम्बेले पोष्टको दिशा दिएका हुन । त्यसको ६ मिनेट बित्न नपाउँदै डी मारियाकै पासमा एमबाप्पेले अर्को गोक थपेपछी युनाइटेडका घरेलु समर्थक स्तब्ध बनेका थिए ।

अन्तरिम प्रशिक्षक सोल्सायरको नेतृत्वमा युनाइटेडले ११ मध्ये १० खेलमा बिजय हासिल गरेको थियो भने १ खेल बराबरी खेलेको थियो । तर पीएसजीसंग घरेलु मैदानमा २ गोलको अन्तरमा पराजित भएपछि च्याम्पियन्स लिगको यात्रा कायम राख्न युनाइटेडलाई पेरिसमा त्यो भन्दा धेरै गोलअन्तरको नतिजा निकाल्नु पर्नेछ । दोस्रो लेगका लागि युनाइटेड मार्छ ६ मा पेरिस भ्रमणका लागि निस्कनेछ ।

“पहिलो गोल गरेपछि उनीहरूले लय समाते । तर हामीले आफ्नो स्वभाविक प्रदर्शन गर्न सकेनौ । हामिले यसबाट पाठ सिक्नुपर्छ । यसले अर्को अनुभव पनि हुन्छ भन्ने सिकाएको छ,” लिङ्गार्ड र मार्सियालको चोटबारे युनाइटेड प्रशिक्षक सोल्सायरले भने, “उनीहरूको चोट नै हारको कारण भन्न मिल्दैन । हामीसंग अन्य खेलाडी पनि उत्तिकै प्रतिभावान छन् । तर यी दुईले पछिल्ला खेलमा राम्रो गरिराखेका थिए । आशा गरौ उनीहरूको चोट गम्भीर छैन । मशलमा चोट लागेका कारण केही दिन कुर्नु पर्नेछ ।”

पहिलो हाफमै जिसस लिङगार्ड र एन्थोनी मार्सियाल घाइते भएपछि सोल्सायर संकटमा परेका थिए । लिङगार्डलाई एलेक्सिस सान्चेज र मार्सियालाई हुवाँ माटाले प्रतिस्थापन गरेका थिए । तर दुबैले पीएसजीबिरूद्ध प्रभाव जमाउन सकेनन् । ठिक बिपरित पीएसजीले  स्टार खेलाडी नेइमार र इडिसन काभानीको अनुपस्थिती खड्किन दिएन । युनाइटेडका पुर्व मिडफिल्डर डी मारिया र एमबाप्पेले फ्रेन्च लिग वान बिजेताको आक्रमण चुस्त पारेका थिए ।

“पहिलो हाफमा हामिले सहज बलहरू गुमाएका थियौं । तर दोस्रो हाफमा हामीले लय समायौं । साच्चिकै राम्रो खेल्यौं,” पीएसजीका प्रशिक्षक थोमस टुचेलले भने, “हामी जितका हकदार थियौं र ओल्ड ट्राफोर्डमा हामीले त्यो हासिल पनि गर्यौ । मेरो टिमलाई बधाई छ । तर यो पहिलो हाफ मात्र हो । पेरिसमा हुने दोस्रो हाफमा पनि यो लयलाई कायमै राख्न आवश्यक छ ।”

घरेलु मैदानमा पराजित हुनुको पिडासँगै युनाइटेडलाई पाउल पोग्बाले पाएको रातो कार्डले पनि चिन्तित बनाएको छ । २६औं मिनेटमा पहिलो पहेँलो कार्डको समना गरेका पोग्बाले ८९औं मिनेटमा दोस्रो पहेँलो कार्डको सामना गरेपछि उनले दोस्रो लेग गुमाउने भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री