काठमाडौं । बैंकर्स संघले मुद्दति निक्षेपमा दिने ब्याजदर फेरि घटाउन भद्र सहमति गरेको छ।२८ वटै सदस्य बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिसँग बिहीबार बिहान भएको छलफलपछि संघले मुद्दति निक्षेपको ब्याजदर घटाउने भद्र सहमति गरेको हो।
सहमतिअनुसार शुक्रबारदेखि लागू गर्ने गरेर बैंकहरूले संस्थागत मुद्दतिमा ९ प्रतिशत र व्यक्तिगतमा १० प्रतिशत ब्याज दिने सहमति गरेका हुन्। अहिले बैंकहरूले संस्थागत निक्षेपकर्तालाई साढे १० र व्यक्तिगतलाई ११ प्रतिशत ब्याज दिँदै आएका थिए।
त्यस्तै बैंकहरूले साधारण बचतमा ७ प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने सहमति भएको छ। साथै बैंकरले बचतको ब्याजदरमा पनि सीमा लगाएका छन्।
बैंकहरूले बचतको ब्याजदर सात प्रतिशतभन्दा माथि दिन पाउँदैनन्। ती बैंकले न्यूनतम ब्याज ५ प्रतिशत तोक्नुपर्नेछ। केही बैंकले यसअघि लगाएको पूर्व सहमति उल्लघंन गरिरहेका बेला उनीहरुलाई पनि मनाउँदै संघले ब्याज थप घटाउने निर्णय गरेको हो।




