काठमाडौं । पूँजीबजारको वर्तमान अवस्थालाई केवल एउटा कारणसँग जोडेर व्याख्या गर्न नसकिने अर्थविद् डा. चन्द्रमणि अधिकारीले बताएका छन् । बजारमा सीमित व्यक्तिको प्रभाव, इन्साइडर ट्रेडिङका आरोप तथा लगानीकर्ताको मनोविज्ञानजस्ता विभिन्न पक्षले बजारलाई असर गरिरहेको उनको भनाइ छ ।
उनले विगतमा सेयर बजारमा सीमित व्यक्तिको पकड रहेको र इन्साइडर ट्रेडिङ भएको भन्ने चर्चा बजारमा व्यापक रूपमा रहेको उल्लेख गर्दै त्यसका केही प्रभाव अहिले पनि देखिन सक्ने बताए । ‘म यो कुरा शतप्रतिशत हो भनेर भन्न सक्दिनँ, तर बजारमा त्यस्ता चर्चा भइरहेका थिए । पहिले बजारमा भूमिका खेल्ने केही समूह अहिले सक्रिय हुन नपाउँदा पनि बजारमा त्यसको प्रभाव परेको हुन सक्छ,’ उनले भने । अधिकारीका अनुसार साना लगानीकर्ताले दुई–तीन लाख वा चार लाख रुपैयाँ लगानी गर्दैमा बजारको समग्र दिशा परिवर्तन गर्न सक्दैनन् । बजारको उतारचढावका पछाडि धेरै संरचनागत तथा मनोवैज्ञानिक कारण रहेको उनको विश्लेषण छ ।
उनले लगानीकर्ताको मनोविज्ञानले पनि बजारलाई प्रभाव पार्ने बताए । कतिपय लगानीकर्ताले आफ्नो असन्तुष्टि खुला रूपमा व्यक्त नगरे पनि सरकारप्रति पूर्ण विश्वासको वातावरण नबन्दासम्म लगानी विस्तार हुन नसक्ने उनको धारणा छ । ‘सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म लगानीको वातावरण बन्दैन,’ अधिकारीले भने, ‘लगानी आकर्षित गर्न प्रशासनिक प्रक्रिया सरल हुनुपर्छ, नीति तथा कानुन स्पष्ट र सहज हुनुपर्छ, र सरकारी संयन्त्रले लगानीकर्तालाई अनावश्यक झन्झटमा पार्नु हुँदैन ।’
उनका अनुसार लगानीमैत्री वातावरण निर्माणका लागि प्रशासनिक तथा संरचनागत सुधार अपरिहार्य छ । सरकारले पछिल्लो समय प्रशासनिक प्रक्रियामा केही सरलता ल्याउने प्रयास गरेको उल्लेख गर्दै उनले त्यस्ता सुधारलाई अझ प्रभावकारी र निरन्तर बनाउनुपर्ने आवश्यकता औंल्याए । अधिकारीले दीर्घकालीन रूपमा पूँजीबजारको विकासका लागि पारदर्शिता, सुशासन, नीतिगत स्थिरता र लगानीकर्ताको विश्वास सबैभन्दा महत्वपूर्ण आधार हुने बताए ।



