माघे संक्रान्ति पर्व पर्यटन मेलाका रुपमा मनाइँदै

काठमाडाैँ । बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो ।

स्थानीय स्वर्गाश्रम युवा क्लबको अगुवाइमा मुसुङमा शुरु भएको माघे सङ्क्रान्ति सांस्कृतिक एवं पर्यटन मेलाको आइतबार उद्घाटन गरिएको छ । पर्यटकीय सम्भावनायुक्त स्वर्गाश्रम, बेलढुङ्गा, डोलेलगायतका पर्यटकीयस्थलको प्रचारप्रसार र पर्यटन पूर्वाधार तयार गर्न सरोकारवालाको ध्यानाकर्षण गराउन मेलाले सहयोग पुग्ने वडाध्यक्ष पदम पुनले बताए।

पर्यटन मेलाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले पर्यटन क्षेत्रको विकासले स्थानीयको जीवनस्तर उकास्न ठूलो सहयोग पुग्ने बताउँदै लुकेर रहेका पर्यटकीय क्षेत्रको उजागर गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिकाले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउँदै समुदाय र सरकारी पक्ष मिलेर काम गरेमा मात्रै विकास दिगो र टिकाउ हुने बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र बेनी नगरपालिका–६ का अध्यक्ष कृष्णसिंह बानियाँले परम्परागत मेलापर्वलाई कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धन हुने गरी सञ्चालन गर्नु सकारात्मक पक्ष रहेको बताउँदै मेला पर्वमा हुने नराम्रो पक्षलाई निरुत्साहित गर्न आयोजकलाई सुझाव दिए ।

माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा विविध खेलकूद र सांस्कृतिक कार्यक्रम हुने मेला आयोजक समितिका संयोजक तारामिलन छन्त्यालले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घर लिप्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

काठमाडौं । गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गुल्मीको …

प्रतिकृया दिनुहॊस

This will auto close after