उत्तर कोरियाले अमेरिकी सेनाको अखडामा कुनै पनि वेला आक्रमण गर्न सक्ने

उत्तर कोरियाले पश्चिम प्रशान्त क्षेत्रको गुआमस्थित अमेरिकी रणनीतिक सैन्य आधार वरपर ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्न योजना गरिरहेको दाबी गरेको छ । अमेरिकी रणनीतिक बमविमानहरू राखिएको अखडा रहेको गुआम वरपर मझौला र लामो दूरीको रकेट प्रहार गर्ने योजना भइरहेको उत्तर कोरियाले जनाएको हो । उत्तर कोरियाली नेता किम जोङ उनले आदेश दिनेवित्तिकै कुनै पनि वेला अमेरिकी सैन्य आधारमा हमला हुने उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ ।

उत्तरले अमेरिकी सैनिक शिविरमा हमला गर्ने चेतावनीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङलाई क्रुद्ध र सशक्त कारबाही गर्ने चेतावनी दिएका छन् । प्योङयाङले कहिल्यै नदेखेको आक्रमणको सामना गर्नुपर्ने ट्रम्पले चेतावनी दिएका हुन् ।

‘अमेरिकालाई उत्तर कोरियाको धम्की हास्यास्पद विषय हुन् । प्योङयाङले अहिलेसम्म नदेखेको भीषण गोलाबारी सामना गर्नुपर्नेछ,’ ट्रम्पले चेतावनी दिएका छन् ।

उत्तर कोरियाले जुलाई महिनामा दुईवटा शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र प्रहार गरेको थियो । पछिल्लो क्षेप्यास्त्र प्रहारसँगै सम्पूर्ण अमेरिका उत्तरको आणविक हमलाको पहुँचभित्र परेको प्योङयाङले दाबी गरेको थियो । यसअघि उत्तर कोरियाले अमेरिकाको अलास्कासम्म हमला गर्न सक्ने दाबी गरेको थियो । उत्तर कोरियाले अमेरिकाविरुद्ध बारम्बार चेतावनी दिइरहेका वेला केही विज्ञहरूले उसका आणविक क्षमतालाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् ।

उत्तरले बारम्बार क्षेप्यास्त्र प्रहार गरेपछि संयुक्त राष्ट्रसंघले प्योङयोङमाथि यसै साता ताजा प्रतिबन्ध लगाएको छ । उत्तर कोरियालाई प्रतिबन्ध लगाउने सुरक्षा परिषद्को प्रस्तावमा चीन र रसियाले समेत सहमति जनाएका छन् । यसअघि उत्तर कोरियाको प्रस्तावविरुद्ध भिटो प्रयोग गरेका यी दुवै मुलुकले प्रतिबन्ध लगाउने प्रस्तावमा हस्ताक्षर गरेपछि प्योङयाङ दबाबमा परेको छ ।

पछिल्लो प्रतिबन्धपछि उत्तर कोरियाले अमेरिकासँग बदला लिने चेतावनी दिँदै आएको छ । प्रतिबन्धको बदला आणविक आक्रमणले दिने उत्तर कोरियाले अमेरिकालाई धम्की दिँदै आएको छ । तीन दिनअघि मात्र चीनका विदेशमन्त्री वाङ यीले चीनलाई आणविक गतिविधि रोक्न आग्रह गरेका थिए ।

एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप