काठमाडाैं । नेपालको विश्वसनीय जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवर्द्धक तथा नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना (Nepal Life Samriddhi Lagani Yojana)” नामक सामूहिक लगानी कोषले आफ्ना इकाइहरू सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि बिक्रीमा ल्याएको छ।
उक्त योजना अन्तर्गत माघ ४ गतेदेखि इकाइहरू सार्वजनिक निष्कासनमा ल्याइएको हो। नेपाल धितोपत्र बोर्डबाट माघ १३ गते स्वीकृति प्राप्त गरी प्रति इकाइ रु. १० अंकित दरमा कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाइ निष्कासन गरिएको छ। जसमध्ये बीज पुँजी वापत १५ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाइ कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा १ प्रतिशत अर्थात् १६ लाख इकाइ योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको १३ करोड ६० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको हो। उक्त कोषका लागि न्यूनतम १०० इकाइ र अधिकतम १ करोड ६० लाख इकाइ सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
नेपाल लाइफ म्युचुअल फन्ड अन्तर्गतको यो पहिलो बन्दमुखी योजना हो। योजना इकाइ बाँडफाँड भएको मितिदेखि १० वर्ष अवधिको हुनेछ। यस योजनाका इकाइहरूमा मिति माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आश्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेड द्वारा सञ्चालनमा ल्याइएको “मेरो शेयर” अनलाइन प्रणालीमार्फत सि–आश्वा प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।
उक्त सामूहिक लगानी कोष निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपाल लिमिटेड ले कोष प्रवर्द्धकलाई [ICRANP-IR] AA- (समयमै वित्तीय दायित्व पूरा गर्न उच्च स्तरको सुरक्षा) तथा योजना व्यवस्थापकलाई
[ICRANP] AMC Quality 3 (AMC3) – व्यवस्थापन गुणस्तरमा पर्याप्त सुनिश्चितता रेटिङ प्रदान गरेको छ।




