काठमाडाैँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले जेलमा आफ्नो ब्यारेकमा कुचो लगाउनेदेखि भूइँ पुछ्नेसम्मको काम आफैले गर्नुपर्ने भएको छ । आरामदायी जीवन बिताएका पूर्व प्रधानमन्त्रीले यस्तो दिन आउला भनेर कल्पनासमेत गरेका थिएनन् सायद ।
पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व प्रधानमन्त्री शरीफले जेलमा आफैले सरसफाइ गर्नुपर्नेछ । उनले सरसफाइका लागि एकजना सहयोगी उपलब्ध गराइदिन माग गरेका थिए । तर पाकिस्तानको पञ्जाब प्रान्तको सरकारले शरीफलाई यो सुविधा दिन अस्वीकार गरेको हो । पूर्वप्रधानमन्त्री भएकैले शरीफले जेलमा कैयौँ सेवा सुविधा पाए पनि सरसफाइका लागि भने सहयोगी नपाउने भएका छन् ।
पञ्जाबका जेल महानिरीक्षक शाहिद सलीम बेगले बुधबार पञ्जाब सरकारले गरेको निर्णय सुनाउँदै पूर्व प्रधानमन्त्री शरीफलाई सहयोगीका रुपमा कैदी उपलब्ध नगराइने बताएका छन् । बेगले शरीफको मुद्दा निकै संवेदनशील भएको बताउँदै उनलाई ब्यारेकबाट बाहिर जान पनि दिन नमिल्ने बताएका छन् ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ अल अजिजिया स्टील भ्रष्टाचार मामिलामा लाहोरको कोट लखपत जेलमा सात वर्षको सश्रम जेल सजाय भोगिरहेका छन् ।




