काठमाडौँ । महिला शिक्षाको इतिहासमा गौरवमय साख बोकेको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसले आफ्नो स्थापनाको ७५औँ वर्ष (हिरक जयन्ती) भव्य समारोहका बीच सम्पन्न गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा क्याम्पसको शैक्षिक तथा भौतिक उन्नयनको समीक्षा गर्दै भविष्यको मार्गचित्र कोरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको सर्वाङ्गीण विकासमा शिक्षाको भूमिका अपरिहार्य रहेको बताए । उनले पद्मकन्या क्याम्पसले नेपाली महिलाहरूलाई शिक्षित, सक्षम र आत्मनिर्भर बनाउन खेलेको ऐतिहासिक भूमिकाको खुलेर प्रशंसा गरे । ‘राजनीतिक, प्राज्ञिक र प्राविधिक हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगेका धेरै महिलाहरू यही कलेजका उत्पादन हुनु गौरवको विषय हो,’ राष्ट्रपतिले भने ।
उनले बदलिँदो समय र बजारको मागअनुसार स्वदेशमै गुणस्तरीय शिक्षा र नयाँ सीप विकासमा क्याम्पसले भविष्यमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । मुलुकको समसामयिक परिस्थितिबारे बोल्दै राष्ट्रपति पौडेलले देश हाल विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरे । आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भ कोट्याउँदै उनले भने, ‘सुशासन र मुलुकलाई नयाँ दिशा प्रदान गर्नका लागि जनताले यो निर्वाचनमा सक्रिय सहभागिता जनाउनु आवश्यक छ ।’
समारोहको शुभारम्भमा राष्ट्रपति पौडेलले क्याम्पस परिसरमा नवनिर्मित ‘हिरक स्तम्भ’ को उद्घाटन गरेका थिए । कार्यक्रममा प्रथम महिला सविता पौडेल र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. केदार रिजालको विशेष उपस्थिति थियो । सहायक क्याम्पस प्रमुख विमला प्रधानको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्याम्पस प्रमुख जयालक्ष्मी प्रधानले क्याम्पसको प्रगति विवरण प्रस्तुत गरिन् । हाल ८ हजार २ सय ४५ छात्राहरू अध्ययनरत रहेको जानकारी दिँदै उनले आगामी शैक्षिक तथा भौतिक योजनाहरूबारे प्रकाश पारिन् ।
समारोहमा शैक्षिक उन्नयनमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । हालसालै विद्यावारिधि (PhD) उपाधि हासिल गरेका प्राध्यापकहरूलाई राष्ट्रपतिले विशेष सम्मान प्रदान गरे भने क्याम्पसबाट प्रकाशित विभिन्न जर्नलहरू राष्ट्रपतिसमक्ष हस्तान्तरण गरियो । कार्यक्रमको दोस्रो सत्रमा क्याम्पसमा लामो समय सेवा गरी अनिवार्य अवकाश पाएका तथा ७५ वर्ष उमेर पुगेका प्राध्यापक र कर्मचारीहरूलाई दोसल्ला ओढाएर सम्मान गरियो । साथै, त्रिविमा २५ वर्ष सेवा गरेका कर्मचारीहरूलाई पनि दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो।
छात्रवृत्ति र पुरस्कार वितरण
विद्यार्थीहरूको हौसला अभिवृद्धिका लागि प्रेमचन्द्र देवी पुरस्कार, इन्दिरा देवी छात्रवृत्ति, पूर्णचन्द्र रेग्मी नगद पुरस्कार, पद्यमकन्या संगीत पुरस्कार, गोविन्द अग्रवाल नगद पुरस्कार, पवित्रा पन्त अक्षयकोष लगायत विभिन्न अक्षयकोषहरूबाट उत्कृष्ट नतिजा ल्याउने छात्राहरूलाई पुरस्कृत गरियो । हिरक जयन्तीका गतिविधिमा सहयोग पुर्याउने एम्बिसन गुरु, साल्ट ट्रेडिङ, नेपाल बैंक, हाइलाइफ जस्ता प्रायोजक संस्थाहरूलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।
क्याम्पसको वार्षिकोत्सव असोज १ गते नै भए पनि ‘जेनजी आन्दोलन’ लगायतका कारण कार्यक्रम हाल आयोजना गरिएको आयोजकले जनाएको छ । स्ववियु सभापति र कर्मचारी युनियनका प्रतिनिधिहरूको मन्तव्यसहित अघि बढेको कार्यक्रम चर्यानाँच, वाद्यवादन र सांगीतिक प्रस्तुतिसँगै उल्लासमय वातावरणमा समापन भयो।




