काठमाडौं । शहरी सौन्दर्य र सभ्यताको कडी मानिने बागमती नदीलाई ढलमुक्त र कञ्चन बनाउन सरकारले उच्च सतर्कता अपनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बागमती करिडोरको स्तरोन्नति र सरसफाइ अभियानलाई तीव्रता दिएका हुन् ।
शनिबार बिहानै मन्त्री घिसिङ बागमती करिडोरअन्तर्गत गुह्येश्वरी-गोकर्ण खण्डको अनुगमनमा निस्किएका थिए । गोकर्णेश्वर नगरपालिका-५ स्थित जम्बुडाँडा क्षेत्रमा पुग्दा ढल जाम भएर सोझै नदीमा मिसिएको र ढलकै कारण सडक जीर्ण बनेको अवस्था देखिएपछि उनी गम्भीर बने । ढल र सडक मर्मतका लागि ठेक्का सम्झौता भए पनि निर्माण व्यवसायीको काम सन्तोषजनक नदेखिएपछि मन्त्री घिसिङले कडा निर्देशन दिएका छन् ।
स्थलगत निरीक्षणकै क्रममा उनले निर्माण व्यवसायीलाई जनशक्ति थप गरेर भए पनि कामलाई गति दिन निर्देशन दिए । मन्त्री घिसिङले भने, ‘यो काममा ढिलासुस्ती स्वीकार्य छैन, अबको एक महिनाभित्र मर्मत कार्य सम्पन्न हुनुपर्छ ।’
बागमती सफा नभएसम्म काठमाडौं सहर सफा नहुने धारणा राख्दै उनले ढल व्यवस्थापन, करिडोरको सडक मर्मत र नदीको फोहोर हटाउने कामलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताए । उनको निर्देशनबमोजिम गुह्येश्वरी-गोकर्ण खण्डको करिडोर किनारमा लामो समयदेखि बेवारिसे अवस्थामा रहेका पुराना सवारी साधनहरू समेत हटाइएको छ ।
अहिले नदीमा थुप्रिएको फोहोर र लेदो हटाउने काम सुरु भइसकेको छ । मन्त्री घिसिङले नदी सफा बनाएर ठाउँ-ठाउँमा रहेका ‘चेक ड्याम’ सञ्चालनमा ल्याउने योजना सुनाए । ‘नदीको फोहोर र लेदो हटाएर चेक ड्याममार्फत साना-साना तलाउ निर्माण गरिनेछ, जसले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मद्दत पुग्नेछ,’ उनले भने ।
हाल चेक बाँध निर्माण भए पनि फोहोर जम्मा हुँदा ती संरचना प्रयोगविहीन अवस्थामा छन् ।




