कान्तिलोकपथमा ‘ब्रेक फेल’ भएर औषधि बोकेको ट्रक पल्टियो, सवारी आवागमन ठप्प

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-८, बगुवास्थित कान्तिलोकपथमा औषधि बोकेको ट्रक दुर्घटना हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । शनिबार बिहान करिब ५ बजे वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना. ३ ख ३१९२ नम्बरको ट्रक अनियन्त्रित भई सडकको बीचमै पल्टिएको हो ।

इलाका प्रहरी कार्यालय ठिंगनका अनुसार ओरालो बाटोमा ‘ब्रेक फेल’ भएर उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सडकको बीच भागमै ट्रक पल्टिएका कारण बिहानैदेखि कान्तिलोकपथ हुँदै चल्ने सवारीसाधनहरू रोकिएका छन् । ट्रकमा औषधि लोड गरिएको प्रहरीले जनाएको छ ।

ठूलो दुर्घटना भए पनि मानवीय क्षति भने भएको छैन । दुर्घटनामा ट्रक चालक बाराको जितपुर-सिमरा उपमहानगरपालिका-१ का ४० वर्षीय विनोद माझी सकुशल रहेको प्रहरीले पुष्टि गरेको छ । उनी हाल प्रहरीको सम्पर्कमै छन् ।

दुर्घटनालगतै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक (असई) रमाकान्त प्रसाद यादवको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थल पुगेको थियो । इप्रका ठिंगनबाट करिब ८ किलोमिटर उत्तरतर्फ पर्ने उक्त स्थानमा क्रेन वा अन्य माध्यमबाट ट्रक हटाएर सडक सुचारु गर्ने प्रयास भइरहेको छ ।

प्रहरीले सडक खुल्न समय लाग्न सक्ने भन्दै यात्रु तथा सवारी चालकहरूलाई तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री