हेटौँडा । सडक डिभिजन कार्यालय हेटौँडाले पूर्व-पश्चिम महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गतको सडक सीमा मिचेर बनाइएका संरचनाहरू हटाउन कडा निर्देशन जारी गरेको छ । कार्यालयले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै सडक क्षेत्राधिकारभित्र पर्ने घरटहरा तथा अन्य संरचनाहरू हटाउन १५ दिनको समयसीमा (अल्टिमेटम) दिएको हो ।
डिभिजन कार्यालयले राजमार्गको केन्द्र रेखाबाट दायाँ-बायाँ २५-२५ मिटर क्षेत्रलाई सडक सीमा कायम गरिएको जनाएको छ। विशेषगरी हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको खण्डमा सडक मापदण्ड (२५-२५ गज) भित्र रहेका स्थायी तथा अस्थायी संरचनाहरू हटाउन कार्यालयले ताकेता गरेको छ ।
अटेर गरे के हुन्छ ?
सूचनामा स्पष्ट चेतावनी दिइएको छ कि तोकिएको १५ दिनभित्र सम्बन्धित घरधनी वा सरोकारवालाले अतिक्रमित संरचना नहटाएमा सडक डिभिजन कार्यालयले आफैँ ती संरचना हटाउनेछ । यसरी कार्यालयद्वारा बलप्रयोग गरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च सार्वजनिक सडक ऐन, २०३१ र अन्य प्रचलित कानुन बमोजिम सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने कार्यालयले जनाएको छ ।





