काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार छनोटको जिम्मा सहरूमहामन्त्री विपिनकुमार आचार्यलाई दिएको छ ।
मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मीनष झाले जानकारी दिए । आचार्य संयोजक रहने समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य डा. चन्दा कार्की र राजन गौतम (चितवन) तथा सबै प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन् ।
आचार्य यसअघि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा तयार पार्ने जिम्मेवारीमा थिए। त्यसलाई सफलतापूर्वक पूरा गरेको भन्दै उम्मेदवार छनोटको पनि जिम्मेवारी दिएको हो । बैठकले समसामयिक राजनीतिक अवस्थामाथि व्यापक छलफल गर्दै जेनजीको राजनीतिक सक्रियताबाट प्राप्त उपलब्धि संस्थागत गर्न सुसंस्कृत एवं परिवर्तनकामी शक्तिसँग मुद्दागत तथा सांगठनिक सहकार्यका ढाँचा विकास गर्ने निष्कर्ष निकालेको छ ।
यसका लागि उपसभापति डा. स्वर्णिम वाग्ले संयोजकत्वमा रहेको उच्च संवाद समितिलाई संवाद प्रक्रिया थप घनिभूत गर्न निर्देशन दिइएको छ । पार्टीले सबै प्रदेश र जिल्लामा निर्वाचन लक्षित विस्तारित बैठक तथा जेनजी उमेर समूहसँग संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ ।




