अन्धोपनविरुद्ध क्रान्ति: डा. सुस्विन वाग्लेको ‘आई-जेल’ अनुसन्धानले विश्वभर आशा जगायो

अस्ट्रेलिया । डा. सुस्विन वाग्लेले जन्मजात आँखाका रोगबाट बालबालिकाको अन्धोपन रोक्ने क्रान्तिकारी ‘आई-जेल’ उपचार विकास गर्दै, $४२९,००० को प्रतिष्ठित अन्तर्राष्ट्रिय फेलोशिप प्राप्त गरेका छन् ।

कर्टिन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. सुस्विन वाग्लेले जन्मजात रेटिनल रोगका कारण दृष्टि गुम्दै गरेका बालबालिकालाई बचाउन सकिने नयाँ ‘आई-जेल थेरापी’ विकास गर्न लागेका छन् ।

डा. वाग्लेलाई यस अग्रगामी परियोजनाका लागि कुल $४२९,००० को २०२५ Early-Career Child Health Researcher Fellowship प्रदान गरिएको छ, जुन WA को Future Health Research and Innovation Fund, Stan Perron Charitable Foundation र BrightSpark Foundation को संयुक्त सहयोग हो ।

विश्वभर २ मिलियनभन्दा धेरै मानिस प्रभावित यी आनुवंशिक आँखाका रोगहरू महँगा र जटिल जीन थेरापीका कारण अधिकांश बालबालिकाका लागि उपचारविहीन बन्न पुगेका छन् ।

डा. वाग्लेले सुपरभाइजर डा. हानी अल–सलामीसँग मिलेर कर्टिन विश्वविद्यालयमा विकसित नयाँ एन्टिअक्सिडेन्ट औषधि ‘HA1’ आधारित पीडारहित र सुरक्षित आई-जेल तयार गर्दैछन् । प्रारम्भिक नतिजाले HA1 ले रेटिनालाई गहिरोसम्म सुरक्षा दिन सक्ने र कोशिकाको ऊर्जा प्रणालीलाई सक्रिय राख्ने देखाएको छ । यस अनुदानबाट आई-जेलको फर्मुला सुधार, सुरक्षा–प्रभावकारिता परीक्षण र क्लिनिकल ट्रायलतर्फ तयारी गर्ने कार्य अघि बढ्नेछ ।

वैज्ञानिक उपलब्धिमा नेपालीको योगदान, डा. वाग्लेको अनुसन्धान विश्वभरका बालबालिकाका लागि आशा बन्ने अपेक्षा गरिएको छ । सस्तो, सुरक्षित र सहज रूपमा प्रयोग गर्न मिल्ने उपचार बन्न सकेमा, यसले वैश्विक बाल–स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय खोल्ने विज्ञहरूले बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप