काठमाडौं । नेपाल औषधि लिमिटेडले देशमा औषधिको उपलब्धता र पहुँच विस्तार गर्ने महत्त्वपूर्ण उद्देश्यका साथ ९ प्रकारका नयाँ औषधि उत्पादनको तयारी तीव्र पारेको छ । लिमिटेडले हाल यी औषधिहरूको तेस्रो महिनाको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने आगामी तीन महिनाभित्र ६ महिनाको परीक्षण अवधि पूरा गर्ने लक्ष्य राखेको छ ।
नयाँ उत्पादनको सूचीमा जुका, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल नियन्त्रण, आइरन चक्की, फोलिक एसिड, र एजिथ्रोमाइसिन लगायतका अत्यावश्यक औषधिहरू समावेश छन् । यी औषधिहरू दैनिक जीवनमा धेरै मानिसहरूलाई आवश्यक पर्ने भएकाले यिनको स्वदेशमै उत्पादनले आम नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी गराए अनुसार, यी औषधिहरूको आवश्यक परीक्षण पूरा भएलगत्तै आगामी महिनाभित्र औषधि व्यवस्थापन विभागबाट उत्पादन अनुमति लिई व्यावसायिक उत्पादन सुरु गरिनेछ । “हामी देशमै गुणस्तरीय र सस्तो औषधि उपलब्ध गराउन प्रतिबद्ध छौं । यी ९ प्रकारका औषधिहरूको उत्पादनले यो लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ,” महाप्रबन्धक पनेरुले बताए ।
हाल नेपाल औषधि लिमिटेडले ११ प्रकारका औषधिहरू उत्पादन गर्दै आइरहेको छ । नयाँ ९ प्रकारका औषधिको थप उत्पादनसँगै लिमिटेडको उत्पादन क्षमता र बजार विस्तार हुनेछ । यसले गर्दा विदेशी औषधिमाथिको निर्भरता घट्ने र नेपाली बजारमा औषधिको मूल्यमा समेत स्थिरता आउने विश्वास गरिएको छ ।




