डिशहोम गो’मा यसरी हेर्नुहोस् एनपीएल-२

काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता, नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका सम्पूर्ण खेलहरू डिशहोम गो एपमार्फत विश्वभरका दर्शकले प्रत्यक्ष हेर्न पाउने भएका छन् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त प्रसारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले यस वर्षका सबै ३२ खेल नयाँ डिजिटल माध्यमबाट प्रसारण गर्ने तयारी पूरा गरेको जानकारी दिएको छ ।

यही सोमबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ ।

डिशहोम गो ले एनपीएल-२ को प्रत्यक्ष प्रसारणको विशेष अधिकार आफूसँग मात्र रहेको स्पष्ट पारेको छ । यसको अर्थ, युट्युब वा अन्य कुनै पनि डिजिटल प्लेटफर्मबाट यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण उपलब्ध हुनेछैन । कम्पनीले दर्शकहरूलाई विज्ञापनरहित, सफासुधा दृश्य र उच्च गुणस्तरको लाइभ स्ट्रिमिङको प्रत्याभूति दिएको छ, जसले क्रिकेट हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउनेछ ।

क्रिकेटप्रेमी दर्शकहरूले मोबिक भुक्तानी माध्यम ‘इसेवा’ र ‘खल्ती’ मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै, अन्तर्राष्ट्रिय कार्डहरूको प्रयोग गरी पनि सदस्यता लिन सकिने सुविधा उपलब्ध छ । नेपालभित्रका दर्शकका लागि रु. ३००, मध्यपूर्वमा रहेका दर्शकका लागि रु. ५०० र अन्य सबै मुलुकका दर्शकका लागि USD १० को शुल्क तोकिएको छ । एकपटक सदस्यता लिएपछि प्रत्यक्ष प्रसारणका साथै खेलका हाइलाइट्स र अन्य विशेष सामग्रीहरू पनि पुनः हेर्न मिल्नेछन् ।

डिशहोम गो मोबाइल एप, एन्ड्रोइडमा आधारित टेलिभिजन र वेबमार्फत पनि उपलब्ध छ । नयाँ प्रयोगकर्ताहरूले गुगल प्ले स्टोर वा एप स्टोरबाट एप डाउनलोड गरी दर्ता गरेपछि सहजै खेलहरूको आनन्द लिन सक्नेछन् ।

उच्च गुणस्तरको प्रसारण सुनिश्चित गर्नका लागि डिशहोम गो ले प्रविधि साझेदारका रूपमा मोबियोटिक्स र अकामाई जस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीहरूसँग सहकार्य गरेको छ । मोबियोटिक्सले ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अत्यधिक दर्शक व्यवस्थापन गरेको अनुभव बोकेको छ भने अकामाई विश्वप्रसिद्ध सामग्री वितरण प्रविधि प्रदायक हो । यी सहकार्यले एनपीएल-२ को स्ट्रिमिङ अझ स्थिर, तीव्र र गुणस्तरीय हुने कम्पनीको दाबी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप