मौलाकाली केबलकार दुई महिनापछि पुनःसञ्चालनको तयारी, परीक्षण सफल

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि बन्द रहेको मौलाकाली केबलकार दुई महिनापछि पुनःसञ्चालनका तयारीमा छ। आइतबार गरिएको प्राविधिक परीक्षण सफल भएपछि केबलकार केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ।

मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार हाल आन्तरिक परीक्षण भइरहेको छ। “सबै प्रणालीले स्थिर रूपमा काम गरिरहेको पुष्टि भइसकेको छ,” उनले भने, “अन्तिम चरणको निरीक्षण पूरा भएपछि नियमित सञ्चालन सुरु हुनेछ।” कम्पनीका अनुसार केबलकारको तल्लो स्टेशनमा क्षति पुगेको भएकाले अष्ट्रिया–स्थित उत्पादक कम्पनीका प्राविधिकको टोलीले एक सातासम्म विस्तृत परीक्षण र मर्मतसम्भार गरेको थियो।

गत वर्ष वैशाखमा सञ्चालनमा आएको केबलकार गत भदौ २४ मा भएको आन्दोलनपछि रोकिएको थियो। आगजनीका कारण करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष तथा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। “तोडफोड र आगजनीका कारण उपकरण परिवर्तन र मर्मतमा ठूलो खर्च भयो,” उनले भने।

केबलकार बन्द हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्या उल्लेख्य रूपमा घटेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए। उनका अनुसार दसैँको महिनामा सामान्य वर्षको तुलनामा कम भक्तजन आएका थिए। अब पुनःसञ्चालनसँगै यात्रु र पर्यटक संख्या बढ्ने अपेक्षा गरिएको छ।

मन्दिरमा दर्शनसँगै हिमाल, पहाड र सूर्योदय अवलोकनका लागि यहाँ आउने आन्तरिक पर्यटकको संख्या हालका वर्षहरूमा बढ्दै आएको छ। समुद्री सतहदेखि ५६१ मिटर उचाइमा रहेको मन्दिर नारायणघाट बजारबाट पाँच किलोमिटर टाढा पर्छ र केबलकार सञ्चालनमै हुँदा यात्रुहरूको यात्रा सहज हुने स्थानीयवासीको अपेक्षा छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री