काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।
सुवेदीको नेपाल कम्युनिस्ट पार्टी आयोगमा दर्ता छ भने हालै प्रचण्ड संयोजक र नेपाल सहसंयोजक भएको नेपाली कम्युनिष्ट पार्टीलाई समेत आयोगले दर्ता गरेको छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित १२ वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी नामकै कारण फेरि कानुनी झमेलामा फस्ने भएको हो ।
आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीसँग मिल्दोजुल्दो गरी दर्ता गराएको विषयमा अध्यक्ष सुवेदीले नेकपाविरुद्ध कात्तिक २६ गते आयोगमा उजुरी दिएका थिए । तर उजुरीमाथि कुनै सुनुवाइ नगरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको सुवेदीले आरोप लगाएका छन् । उनले प्रचण्ड र माधव नेपालको बलमिच्याइँविरुद्ध सर्वोच्च अदालतमा जाने बताएका छन् । ‘हाम्रो पार्टीको नामसँग मिल्दोजुल्दो गरी नेपाली कम्युनिस्ट पार्टी दर्ता नगर्न मैले आयोगमा उजुरी दिएको थिएँ । तर उजुरीमाथि कुनै सुनुवाइ नगरी आयोगले दल दर्ता प्रमाणपत्र दिएको सुनेको छु । प्रचण्ड र माधवको बलमिच्याइँविरुद्ध न्यायिक निरुपणका लागि सर्वोच्च अदालत जान्छौँ,’ उनले भने ।
दल दर्ताका लागि आयोग पुगेका नेपाली भने सुवेदीको पार्टीसँग आफ्नो पार्टी मेल नखाने दाबी गरे । ‘लोकनारायणजीको पार्टी नेपाल कम्युनिस्ट पार्टी हो, हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टी हो । छोटकरी नाममा पनि उहाँले सीपीएन भन्नुभएको छ । हामीले एनसीपी भनेका छौँ । सबै कुरा फरक छ । त्यसकारण निर्वाचन आयोगले दल दर्ता गरिसकेको हो,’ पाण्डेले भने ।
यसअघि २०७५ साल जेठ ३ गते तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर गठन गरेको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध नेकपाका तत्कालीन अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । कट्टेलले दायर गरेको मुद्दामा अदालतले २०७७ साल फागुन २३ गते तत्कालीन माओवादी र एमालेले राखेको नाम बदर गरिदिएको थियो ।




