काठमाडौं । बाङ्ग्लादेशको विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी आन्दोलन दबाउन घातक बल प्रयोग गरेको र ‘मानवताविरोधी अपराध’ गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । तर, भारतमा रहेकी हसिनाले यो फैसलालाई ‘पूर्वाग्रही र राजनीतिक रूपबाट प्रेरित’ भनेर कडा शब्दमा निन्दा गरेकी छन् ।
बाङ्ग्लादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी) ले सोमवार हसिनाका साथै उनका आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी प्रमुख चौधरी अबुल्लाह अल-मामुनलाई गत वर्षको विद्यार्थी आन्दोलनका घटनामा दोषी ठहर गरेको हो । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार उक्त आन्दोलनमा करिब १,४०० जनाको मृत्यु भएको थियो, जसपश्चात् हसिना सत्ता त्याग्न बाध्य भएकी थिइन् ।
आफूविरुद्धको फैसला आएपछि पाँच पृष्ठ लामो विज्ञप्ति जारी गर्दै हसिनाले अन्तरिम सरकारले आफ्नो पार्टी अवामी लीगको राजनीतिक शक्ति मेटाउन खोजेको आरोप लगाएकी छन् । उनले यसअघि बीबीसीलाई पठाएको इमेलमा पनि आफ्नो अनुपस्थितिमा भएको सुनुवाइलाई राजनीतिक प्रतिद्वन्द्वीहरूद्वारा नियन्त्रित ‘क्याङ्गरू कोर्ट’ को ‘नौटङ्की’ को संज्ञा दिएकी थिइन् ।
हसिनाले आफूविरुद्ध द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा मुद्दा चलाउन चुनौती दिँदै ‘प्रमाणहरू राम्ररी केलाइने र जाँचिने एउटा उचित ट्राइब्यूनलमा म आफूमाथि आरोप लगाउने पक्षहरूको सामना गर्न डराउँदिनँ,’ भनेकी छन् । उनले मानवअधिकार र विकासमा आफ्नो सरकारको रेकर्डप्रति गर्व रहेको पनि बताएकी छन् ।
अदालतमा फैसला सुनाइँदा वकिलहरू, मृतकका आफन्तहरू र सञ्चारकर्मीहरूसहित १०० जनाभन्दा बढी मानिस उपस्थित थिए । मृत्युदण्डको फैसला घोषणा हुँदा अदालतभित्र र बाहिर मानिसहरूले हर्षोल्लास व्यक्त गरेका थिए । यद्यपि, हसिनाका लागि राज्यले उपलब्ध गराएका वकिलले सुनुवाइका क्रममा प्रदर्शनकारीहरूको हिंसक गतिविधिको प्रतिकार गर्न प्रहरीले गोली चलाएको दाबी गरेका थिए ।
लगभग ४५० पृष्ठ लामो फैसला भिडिओ सामग्री, प्रकाशित समाचार सामग्री, फोन वार्ताको अडिओ रेकर्ड र मृतकका परिवारसँग लिइएका अन्तर्वार्ताहरूलाई प्रमाण मानी तयार पारिएको हो । हसिना अनुपस्थित रहे पनि उनका पूर्वप्रहरी प्रमुख चौधरी अबुल्लाह अल-मामुन अदालतमा उपस्थित थिए, जसले गत जुलाईमा आफ्नो दोष स्वीकार गर्दै राज्यको साक्षी बनेका थिए । अर्का दोषी असदुज्जमान खान कमल भने भूमिगत छन् ।




