काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले यही ७ मंसिरदेखि अनिश्चित कालीन आन्दोलन गरी मेचीदेखि महाकाली ठप्प पार्ने बताएका छन् । व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्ने उनको घोषणा छ ।
सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले नेपाल प्रिमियर लिग (एनपीएल) का कारण आन्दोलन नरोक्ने बताए । उनले घरमै बसेर एनपीएल हेर्न सुझाव दिए ।
प्रसाईँले भने, ‘व्यवस्था परिवर्तन नभएसम्म छ्याप्पै महेन्द्र राजमार्गमा बस्ने हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोकान व्यवसाय बन्द हुन्छ । थपक्क घरमा बस्ने र क्रिकेट हेर्ने । बाटामा नआउने ।’
प्रसाईँले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखिएको भन्दै पूर्वघोषित आन्दोलन नरोकिने बताएका हुन् । उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आन्दोलनलाई कसैले रोक्न नसक्ने धारणा राखे ।
त्यस्तै प्रसाईँले जेनजीले उठाएका मुद्दामा भन्दा वर्तमान सरकार निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाए ।




