काठमाडौँ । अखिल नेपाल स्वतन्त्र युनियन(अनेरास्ववियु)ले अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत गर्दै संगठनका महासचिव दीपक धामीलाई नयाँ अध्यक्षको रूपमा चयन गरेको छ।
गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’पछि कडरियाले राजीनामा दिएका थिए । सोमबार बसेको पदाधिकारी बैठकले धामीलाई नेतृत्व जिम्मेवारी दिने निर्णय गरेको हो । उपाध्यक्ष अञ्जना सिवाकोटीलाई महासचिवमा मनोनयन गरिएको छ ।
अध्यक्षबाट राजीनामा दिएपछि कडरियाले पुनः पदमा फर्कने प्रयास गरे पनि संगठनभित्र विवाद चर्किएको थियो। अहिले नवनियुक्त अध्यक्ष धामीलाई उनले शुभकामना व्यक्त गरेका छन्।
फेसबुकमार्फत कडरियाले अब पार्टी जीवनमा पूर्ण समर्पणका साथ अघि बढ्ने र नेकपा एमालेप्रति इमानदार कार्यकर्ता भएर निरन्तर लागिरहने बताएका छन्। भदौ २३ गतेको आन्दोलनपछि आफ्नो अनेरास्ववियु यात्रा समाप्त भएको यथार्थलाई आजको बैठकले आधिकारिक मान्यता दिएको उनले बताएका छन् ।
‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु । आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तिता–मिठा क्षणहरू पनि औपचारिक रूपमा समाप्त भएका छन्,’ उनले फेसबुकमा लेखेका छन्।
यस प्रक्रियामा पार्टीले कुनै हस्तक्षेप नगरेको पनि उनले बताएका छन्।
‘हाम्रो सार्वभौम कमिटीको सर्वसम्मतिले पारित गरेको निर्णयलाई उल्लासपूर्वक पालना गर्न देशभरका सबै देशभक्त विद्यार्थीसमक्ष हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्।



