ताइवानसम्बन्धी विवाद: चीन र जापानबीच तनाव

गिनिज बुढा
गिनिज बुढा

काठमाडाैं ।  चीन र जापानबीच ताइवानसम्बन्धी तनाव थप चर्किएको छ । चीनले जापानी प्रधानमन्त्री सानाय ताकाइचीलाई ताइवानबारे गरेको आफ्नो टिप्पणी तुरुन्त फिर्ता लिन आग्रह गरेको छ । १३ नोभेम्बरमा चीनले औपचारिक कूटनीतिक पत्रमार्फत उक्त टिप्पणी फिर्ता लिन आग्रह गरेको हो ।

जापानी प्रधानमन्त्री सानाय ताकाइचीले ७ नोभेम्बरमा संसदमा ताइवानका बारेमा टिप्पणी राखेकी थिइन् । जहाँ उनले यदि चीनले ताइवानमा सैन्य आक्रमण गर्‍यो भने त्यो जापानका लागि “बाँच्नका लागि खतराको अवस्था” हुन सक्ने र जापानले सैन्य प्रतिक्रिया दिनुपर्ने अवस्था आउन सक्ने भनेकी थिइन् । जसका कारण दुई देशहरूबीच कूटनीतिक तनाव बढेको छ ।

८ नोभेम्बरका दिन ओसाकास्थित चिनियाँ वाणिज्य दूत ‘स्यु जियन’ ले सामाजिक सञ्जालमा गरेको टिप्पणीले झन् बढी तनाव उत्पन्न गराएको छ । उनले बढि बोल्नेहरूको गला काटिनुपर्ने भन्ने आशयका साथ टिप्पणी व्यक्त गरेका थिए । जसको विरोध जापानले गरेको छ । जापानका विभिन्न वरिष्ठ नेता र अधिकारीहरूले उक्त टिप्पणी “निकै अनुपयुक्त” भनेर आलोचना गरेका छन् ।

चीनले प्रधानमन्त्री ताकाइचीको ताइवानबारे टिप्पणी “घृणित र अस्वीकार्य” रहेको दाबी गरेको छ । उनले उक्त टिप्पणी फिर्ता लिनुपर्ने र त्यसो नगरेमा जापानले त्यस अनुसारको परिणाम भोग्नुपर्ने चीनको मत रहेको छ ।

चीन, ताइवान र जापानको विवादमा लामो इतिहास जोडिएको छ । १९४९ मा चीनको गृहयुद्धपछि कम्युनिस्ट चीन स्थापित भयो भने ताइवानमा राष्ट्रवादी सरकारको शासन रह्यो । जापानले दोस्रो विश्वयुद्धअघि ताइवानलाई उपनिवेश बनाएको थियो र अहिले औपचारिक कूटनीतिक सम्बन्ध नभएपनि व्यापार, सुरक्षा र संस्कृति सहयोग कायम छ । विवादको मुख्य कारण सैन्य दबाब, सुरक्षा र कूटनीतिक मामिला हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री