भोलिदेखि सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट हुँदै, १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी

काठमाडौं । नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले यही कार्तिक २७ गते बिहीबारदेखि काठमाडौंमा ‘सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५’ आयोजना हुने भएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा दुई दिनसम्म चल्ने यस फेस्टमा देशभरका १५० भन्दा बढी स्टार्टअप र इनोभेसनहरूले सहभागिता जनाउनेछन् ।

लिभिङ विथ आईसीटी, आईसीटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त आयोजनामा हुने यस फेस्टमा सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई प्रविधि, रकेट तथा एयरोस्पेससम्बन्धी उत्पादन तथा सेवाहरूको बृहत् प्रदर्शनी गरिनेछ। यसले नेपालको प्राविधिक विकास र युवाहरूको सिर्जनात्मक क्षमतालाई उजागर गर्नेछ ।

फेस्टमा ड्रोन तथा रोबोटिक्स प्रतियोगिता र जब फेयरसमेत सञ्चालन हुनेछन्, जसले अवलोकनकर्ताहरूलाई मनोरञ्जनका साथै रोजगारीका अवसरहरूबारे जानकारी प्रदान गर्नेछ। आईसीटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार, सोसल इनोभेसन लगायत विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरूले पनि यस फेस्टमा आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नेछन्। अवलोकनकर्ताले प्रत्यक्ष रूपमा यी प्रडक्ट तथा इनोभेसनहरूको अवलोकन गरी भोट गर्न पाउनेछन् ।

आयोजकका अनुसार, देशमै कार्यरत युवा स्टार्टअप, विद्यार्थी र इनोभेटरलाई प्रवर्द्धन गर्न तथा उद्यमशीलताको विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो फेस्ट आयोजना गरिएको हो । फेस्टमा प्रवेश निःशुल्क हुनेछ, जसले इच्छुक युवाहरूलाई आफ्ना सिर्जनात्मक प्रविधि र इनोभेसन प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्नेछ ।

त्यस्तै, प्रदर्शनीमा रहेका स्टार्टअप र प्रडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि प्रडक्ट डेमो र नेटवर्किङ सेसनको व्यवस्था पनि गरिएको छ । यसले स्टार्टअपहरूलाई लगानीकर्ताहरूसँग जोडेर उनीहरूको व्यवसाय विस्तारमा मद्दत पुर्याउनेछ ।

फेस्टमा विभिन्न क्षेत्रका उद्यमी, कर्पोरेट लिडर, नीति निर्माता, उच्च सरकारी अधिकारी, लगानीकर्ता र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ । नेपालको स्टार्टअप तथा इनोभेसन क्षेत्रको वर्तमान अवस्था बुझ्न र युवाहरूले देशमै कस्ता प्रविधि विकास भइरहेका छन् भन्ने बुझ्न फेस्ट उपयोगी हुने आयोजकको विश्वास छ ।

सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित मानिने आईसीटी अवार्ड २०२५ का लागि हाल विभिन्न १५ विधामा छनोट प्रक्रिया जारी छ । यस वर्ष अवार्डका लागि ७ सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री