काठमाडौं । वडाअध्यक्षबाट मालिस गराएर विवादमा आएका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भएको छ ।
मंगलबार बसेको कार्यपालिका बैठकले राजीनामा स्वीकृत गरेको उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन् । उपाध्यक्षलाई सम्बोधन गर्दै लेखेका राजीनामा पत्रमा उनले पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन् । ‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामा पत्रमा छ ।
उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए । अध्यक्ष चौधरी एमालेबाट निर्वाचित भएका थिए भने उपाध्यक्ष कल्पना चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् ।




