काठमाडौं । दुर्गम बाजुराको बूढीगंगा नगरपालिका–७ सिमलकोटमा बिहीबार दिउँसो एउटी महिलाले सडकमै बच्चा जन्माउनुपरेको कारुणिक घटनाले यस क्षेत्रको स्वास्थ्य सेवाको दयनीय अवस्थालाई पुनः उजागर गरेको छ। तर, यस दुखद परिस्थितिका बीचमा एकजना स्वास्थ्यकर्मीको मानवीयताले आमा र नवजात शिशु दुवैको जीवन जोगिएको छ।
स्थानीय सिर्जना केसीलाई सुत्केरी व्यथा लागेपछि परिवारले उनलाई सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाँदै गर्दा बाटोमै असह्य पीडा हुन थाल्यो। `
स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माउने अवस्था आएपछि स्थानीय सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रकी अनमी विनिता विष्टलाई खबर गरियो। खबर पाउनेबित्तिकै विष्ट तत्काल घटनास्थल पुगिन् र विषम परिस्थितिमा सडकमै सिर्जनाको सुरक्षित प्रसूति गराइन्।
अनमी विष्टका अनुसार, आमा र नवजात शिशु दुवैको अवस्था सामान्य छ र उनीहरू खतरामुक्त छन्। यद्यपि, यस्तो जोखिमपूर्ण प्रसूतिले बाजुराका गर्भवती महिलाहरूले भोग्नुपरेको असहजतालाई छर्लङ्ग पारेको छ।
“बाटो तथा घरमा गएर सुत्केरी गराउनु पर्ने त होइन, तर मानवीय नाताले आफू गएर बाटोमै सेवा दिएको हुँ,” अनमी विष्टले भनिन्। सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रमा एक्लै कार्यरत विष्टले कार्यालय सहयोगी समेत नहुँदा सेवा प्रवाहमा समस्या भोग्नुपरेको गुनासो पोखिन्।
सिर्जना केसीको यो घटना बाजुरामा नौलो होइन। यहाँका धेरै आमाहरूले बाटो, मेलापात र घरमै बच्चा जन्माउनुपर्ने बाध्यता अझै पनि छ। बूढीगंगा नगरपालिकाले करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्थाहरूमा सबैभन्दा बढी असर परेको छ। नगरपालिकाका ८ वटा स्वास्थ्य संस्थाहरू एकजना स्वास्थ्यकर्मीको भरमा चलिरहेका छन् भने ३ वटा स्वास्थ्य संस्था पूर्ण रूपमा बन्द छन्। सूचना अधिकारी विष्णुप्रसाद जैशीले दिएको जानकारी अनुसार, यसले ग्रामीण क्षेत्रका बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा पाउन पनि वञ्चित गरेको छ।



