काठमाडौं । दलित हक अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका अभियानी खगेन्द्र सुनारलाई जिल्ला अदालत काभ्रेले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार यो महत्त्वपूर्ण आदेश दिएको हो ।
सुनारमाथि अदालतको अपहेलना र एक अधिवक्तालाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको आरोपमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरिएको थियो । यस विषयले सामाजिक सञ्जाल र दलित समुदायमाझ निकै चर्चा पाएको थियो ।
जिल्ला अदालत काभ्रेका श्रेष्तेदार इन्दिरा कार्कीका अनुसार, सुनार आज अदालतमा उपस्थित भएपछि थुनछेक बहस भएको थियो । बहसपश्चात् अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। श्रेष्तेदार कार्कीले भनिन्, ‘धरौटीमा छोड्न आदेश दिइएको छ । उहाँ धरौटी बुझाउने तयारीमा हुनुहुन्छ ।’
यो घटना अधिवक्ता मनिषा गौतमले आफूमाथि अपशब्द प्रयोग भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएपछि सुरु भएको थियो । ब्युरोले यसलाई गृह जिल्लाबाटै कानुनी प्रक्रियामा अगाडि बढाउन भनेपछि गौतम काभ्रे पुगेकी थिइन् र सोहीअनुसार मुद्दा अगाडि बढेको थियो ।




