जेलबाट रविको सन्देश- आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुवै गर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारमा ५० दिनपछि भेटघाट गर्दै आफू पूर्ण रूपमा स्वस्थ, दृढ र आत्मविश्वासी रहेको जानकारी गराएका छन् । पार्टी सचिवालयका प्रमोद न्यौपानेसँगको भेटमा लामिछानेले समसामयिक राजनीतिक अवस्था र रास्वपाको भावी दिशाबारे स्पष्ट धारणा राखेका हुन् ।

न्यौपानेले फेसबुकमार्फत सार्वजनिक गरेको जानकारी अनुसार, लामिछानेले आफूमाथि अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको बताए । उनले ‘अन्याय भयो’ भन्नेहरूले अहिले केही बोल्नुपर्नेमा जोड दिए । पछिल्लो जनमतका आधारमा चौथो शक्ति बनेको रास्वपा वैकल्पिक र परिवर्तनकारी दल, समूह तथा व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारीमा रहेको लामिछानेको भनाइ छ ।

उनले आवश्यकता परेमा रास्वपाले नेतृत्व र त्याग दुवै गर्न तयार रहेको स्पष्ट पारे । लामिछानेले राजनीतिमा ‘चिठ्ठा’ पर्ने प्रवृत्तिमाथि कटाक्ष गर्दै संयोग सधैँ दोहोरिरहँदैन भन्नेमा जोड दिए । उनले भर्खरै चिठ्ठा परेका केहीलाई फेरि पनि चिठ्ठाकै आश/लोभ रहेको तर लोभीहरूले चिठ्ठा किन्न सके पनि सधैँ पर्छ भन्ने नहुने बताए । उनले ‘हरेक जालमा माछा पर्दैन नि !’ भने ।

रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउने आफ्नो मुख्य लक्ष्य रहेको लामिछानेले दोहोर्‍याए । उनले यो क्षणिक लाभ-हानि सोचेर नबन्ने भन्दै अत्यन्तै खराब परिस्थिति आए पनि रास्वपालाई एक नम्बरको शक्ति बनाउने दृढतामा कुनै कमजोरी नआउने बताएकाे न्यौपानेले उल्लेख गरेका छन् ।  

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री