गोलढुंगामा मध्यरातको घटना: धारिलो हतियार देखाई ब्याग लुट्ने दुई जना समातिए

काठमाडौं । राजधानीमा लुटपाटको घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राति करिब ११ बजे तारकेश्वर नगरपालिका-५, गोलढुंगास्थित फूलबारी गेट नजिकै एक युवकलाई धारिलो हतियार देखाई लुटपाट गर्ने समूहलाई महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका-५ घर भई हाल बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुली दुधौली नगरपालिका-१० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन् ।

प्रहरीका अनुसार, बा ४२ प ४०६९ नम्बरको कालो पल्सर मोटरसाइकलमा आएका उनीहरूले एक युवकको साथमा रहेको ब्याग लुटेका थिए । घटनाको खबर प्राप्त हुनासाथै खटिएको प्रहरी टोलीले तीव्र अनुसन्धान गरी उनीहरूलाई सोही मोटरसाइकल र लुटिएको ब्यागसहित पक्राउ गर्न सफल भएको हो ।

लुटिएको झोलामा केही नगद, रोलेक्स लेखिएको एक थान घडी लगायतका सामान रहेको बताइएको छ । पक्राउ परेकाहरूको साथबाट एक थान खुकुरी र ट्रामाडोल नामक लागूऔषध पनि बरामद भएको प्रहरीले जनाएको छ ।

हाल दुवै जनालाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । राजधानीमा बढ्दै गएको यस्ता घटनाले सुरक्षा चुनौती थपिएको संकेत गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री