म रहरले होइन, युवाहरूको आँसुले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

काठमाडौं । देशको जटिल परिस्थिति र जेनजी युवाहरूको भावनाले आफूलाई प्रधानमन्त्री पदको जिम्मेवारी लिन बाध्य बनाएको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् ।

बुधबार बालुवाटारमा आयोजित सरकार, राजनीतिक दल र जेनजीबिचको त्रिपक्षीय बैठकको समापन समारोहमा उनले भावुक हुँदै भनिन्, ‘म यहाँ रहरले आएकी होइन । म राजनीतिक नेताहरूसँग डिल गर्न सक्दिनँ भनेकी थिएँ । तर जेनजीका युवाहरू मेरो घरमा आएर अभिभावकत्व लिइदिन आग्रह गर्नुभयो, र उहाँहरू धरधरी रुनुभयो ।’

प्रधानमन्त्री कार्कीले आन्दोलनका शहीद र घाइते युवाहरूको स्मरण गर्दै देशका लागि केही गर्ने अठोटका साथ जिम्मेवारी स्वीकार गरेको बताइन् । ‘मैले ती निर्दोष बालबालिकाको निधारमा गोली लागेर ढलेको तस्बिर सम्झिएँ । ती घाइतेहरूको अनुहारले मलाई केही गर्नै पर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ,’ उनले भनिन् ।

वर्तमान सरकार परिवर्तनकामी युवाहरूको आवाज सम्बोधन गर्न कटिबद्ध रहेको उनको भनाइ थियो । ‘हामी शहीद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ । बोलेको कुरा पुर्‍याउँछौँ,’ उनले प्रतिज्ञा गरिन् ।

वैदेशिक हस्तक्षेपबारे उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री कार्कीले यसलाई तर्साउने हतियार मात्र भएको बताइन् । ‘विदेशीले हस्तक्षेप गर्छ भन्ने कुरा तर्साउने हतियार मात्र हो । अहिलेसम्म मलाई कुनै विदेशीले यसो गर वा नगर भनेको छैन,’ उनले स्पष्ट पारिन् । 

न्यायाधीशबाट राजनीतिमा आएको विषयमा पनि उनले टिप्पणी गरिन् । ‘के न्यायाधीशलाई प्रधानमन्त्री वा मन्त्री बन्न संविधानले रोकेको छ ? भारतमा पनि न्यायाधीशहरू मन्त्री बनेका छन् । यहाँ असामान्य अवस्था हुँदा किन प्रश्न उठ्ने ?’ उनले प्रतिप्रश्न गरिन् ।

भ्रष्टाचारविरुद्धको आफ्नो अडान पुनः दोहोर्‍याउँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘यदि भ्रष्टाचार गरेको भेटिए भने मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु ।’

समापन मन्तव्यमा उनले सरकार विश्वास र मनोबल उठाउने दिशामा काम गरिरहेको बताइन् । ‘३५ वर्षसम्म मनोबल गिराइएका मान्छेहरू अहिले मनोबलको कुरा गर्छन्,’ उनले भनिन्, ‘तर हामी मनोबल उठाउने दिशामा छौँ, उठ्छ । किनभने हामी सपार्ने दिशामा छौँ ।’

  • प्रधानमन्त्री कार्कीको समापन मन्तव्य :-

‘‘म यहाँ रहरले आएकी होइन । राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ । मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ । म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ ।

म त्यसरी हिँड्दा देशलाई यस्तो अप्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो ।

जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो । प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो ।

मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ । ती घाइतेहरूको अनुहार हेरेँ । मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ ।

हामी सहिद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ । र, बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ । बोलेको पुर्‍याउँछौँ ।

हामी चुनावमा केन्द्रित छौँ । प्रत्येक दिन यसै गरी छलफल र गृहकार्य गर्छौँ । कामको प्रगति विवरण लिन्छौँ । समस्याहरू फुकाउन लागिपरेका छौँ । अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ, आत्मविश्वास उठाउँदै छौँ ।

प्रहरीको मनोबल पनि बढ्छ । भागेका कैदीबन्दीहरू पनि समातिन्छन् ।

३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु । भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ ? तर, हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ । किनकि, हामी सपार्ने दिशामा छौँ ।

अब यहाँ विदेशीको कुरा पनि आयो । विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो । तर, यो तर्साउने हतियार मात्र हो । यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन ।

हामीहरू राजदूत सिंहदरबारमा भेट्छौँ, बालुवाटारमा भेटेका छैनौँ । अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ । काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ । हामीलाई कुनै विदेशीले खोजेको पनि छैन । त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो ।

अर्को कुरा यहाँको अनौठो चलन देखियो भने काम गर्न नदिने, अनि बातैपिच्छे काम गरेन भन्ने । हामी प्रयास गरिरहेका छौँ । हामी रोकिँदैनौँ । जतिसुकै बाधा र अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौँ ।

यहाँ न्यायाधीशका कुरा पनि उठे । संसद विघटनमा भएका निर्णयका पनि कुरा आए । के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ ? भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन् । यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न ? अचम्म छ ।

कहिलेकाहीँ त लाग्छ, हाम्रो नेपाली समाज कुरैकुरामा मात्र बाँचेको छ । काम गर्नु छैन । अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ । तर, यहाँ राजनीति मात्र गरेको छ । राजनीति गरेरै आर्यघाट जाने ।

मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु । गोलीको वर्षा भइरहेको त्यो जनसागरबिच नारा लगाइरहेका ती युवाको त्यस बेलाको भावभंगी देखेको छु । म त्यही सम्झेर काम गर्छु । मेरो प्रतिबद्धता यही छ ।

म पहिलादेखि लडाकु हुँ । मेरा परिवारका अरू सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ । हामी डराउँदैनौँ । भनेको पुर्‍याउँछौँ ।

अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ । उहाँजस्तो इमानदार र बुझेको मान्छे हुँदा धेरै काम सहज भएको छ । हेर्दै जानुहोस्, हामीले केके गर्दै छौँ ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ । कति त समातिसकेका छन् । कतिलाई समात्दै छौँ । यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु । त्यो दृढताका साथ हामी अघि बढेका छौँ ।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री