काठमाडौं । कुमारी बैंक लिमिटेडले जीवित देवी ‘कुमारी’ तृष्णा शाक्य (निवर्तमान) लाई शैक्षिक छात्रवृत्ति रकम हस्तान्तरण गरेको छ। एक औपचारिक समारोहका बीच बैंकले विगतका वर्षहरूमा संकलन गरेको छात्रवृत्ति कोषबाट जम्मा भएको कुल रु. ७,३८,८११.९५ तृष्णा शाक्यलाई प्रदान गरेको हो।
बैंकले बसन्तपुरकी जीवित देवी कुमारीको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष रु. एक लाखको दरले छात्रवृत्ति कोषमा रकम जम्मा गर्दै आएको छ। उक्त पहलको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपछि उनको शैक्षिक यात्रा सहज बनाउन सहयोग पुर्याउने रहेको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका प्रतिनिधिहरूले तृष्णा शाक्यको आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्दै कुमारी परम्परा नेपालको सांस्कृतिक सम्पदाको प्रतीक भएकाले यसको सम्मानमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरे।
कुमारी बैंकले विगतका वर्षहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र सांस्कृतिक संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बैंकले यस किसिमका पहलमार्फत समाजप्रति आफ्नो दायित्व पूरा गर्न अग्रसर रहने जनाएको छ।



