सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै एसवाई प्यानल

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरेपश्चात अब सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने स्वीकृति पाएको थियो। पहिलो चरणमा कम्पनीले २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि र ४ लाख ९७ हजार ९२ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित राखेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता साधारण शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागिएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन अवधि छिटोमा कात्तिक २३ गते र ढिलोमा मंसिर ३ गतेसम्म रहनेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सिआस्बा प्रणालीमार्फत सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री