काठमाडौँ । मुलुकमा बढ्दो राजनीतिक अस्थिरता, जनजीविकाका सवालमा सरकारको उदासीनता र नेपाली काँग्रेसका कार्यकर्ताहरूमाथि भइरहेको निरन्तरको प्रहारको विरुद्धमा नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । संगठनको स्थापना दिवसको अवसर पारेर सोमबार आयोजित कार्यक्रममा तरुण दलका अध्यक्ष विद्वान गुरुङले वर्तमान सरकारविरुद्ध सशक्त आन्दोलनको घोषणा गरेका हुन् ।
अध्यक्ष गुरुङले मुलुकमा व्यवस्था जोगाउन र तरुण दलको अस्तित्व रक्षाका लागि अब चुप लागेर बस्ने अवस्था नरहेको स्पष्ट पारे। उनले हालैका दिनमा विभिन्न व्यक्तिहरू (दुर्गा प्रसाईँ, सुदन गुरुङ लगायत) ले नेपाली काँग्रेस र यसका कार्यकर्ताहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको भन्दै आक्रोश व्यक्त गरे। “हाम्रो अस्तित्वमाथि नै प्रश्न उठाउने र हामीलाई ‘झोले’ को संज्ञा दिने काम भइरहेको छ। सामाजिक सञ्जालमा हाम्रा परिवारलाई ट्रोल बनाइँदैछ। यस्तो अवस्थामा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं,” गुरुङले भने।
अध्यक्ष गुरुङले तरुण दलका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई सडक संघर्षका लागि तयार रहन निर्देशन दिएका छन्। उनले वर्तमान सरकार गठन भएयता मुलुकमा कुनै ठोस परिवर्तनको अनुभव हुन नसकेको र जनभावना विपरीतका गतिविधिहरू भइरहेको आरोप लगाए।
“सडकमा भिँड्नुको विकल्प छैन”
अध्यक्ष गुरुङले नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई ‘झोले’ को रूपमा चित्रण गर्ने प्रवृत्ति बढेकोमा आपत्ति जनाउँदै यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए। उनले भने, “आज एउटा सरकार बनेको छ। पुराना दलको सरकार गएपछि मुलुकमा केही परिवर्तन भएको छ र? यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाईँ हाम्रो अस्तित्व जोगाउने हो भने अब यिनीहरूको विरुद्ध सडकमा भिँड्ने हो। योभन्दा अब अर्को विकल्प नै छैन।”
भदौ २४ को घटनाप्रति क्षमा याचना र भविष्यका लागि सजगता
गुरुङले गत भदौ २४ गते मुलुकमा भएको ‘विध्वंस’ आफूहरूले रोक्न नसकेकोमा क्षमा मागेका छन्। उनले सो घटनाबाट पाठ सिकेर आगामी दिनमा त्यस्ता खालका कुनै पनि आन्दोलन वा गतिरोधमा नेपाल तरुण दल सजग रहने र तयारी अवस्थामा रहने प्रतिबद्धता व्यक्त गरे। “२३ गतेको घटनालाई हामीले समर्थन गरेका थियौँ। २४ गतेको घटना जुन घटनाको हामीले पुनर्विचार गर्न सकेनौँ। जसकारण हामीले यति ठूलो क्षति व्यहोर्न गयौँ। अब आउने दिनमा कुनै पनि आन्दोलनहरू, कुनै पनि वादीहरूले गर्ने आन्दोलनहरूमा अब नेपाल तरुण दल सजग रहनेछ,” उनले भने ।




