जेनजी आन्दोलनका दोषीमाथि कारबाही र निजी क्षेत्रको सुरक्षा सुनिश्चित होस् : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले हालैको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठ, लुटपाट, तोडफोड र आगजनीका घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । महासंघले यस्ता घटनाले निजी क्षेत्रको मनोबल गिराउने र आर्थिक क्रियाकलापमा नकारात्मक असर पार्ने भन्दै व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरेको छ ।

महासंघका अनुसार, घटनामा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी दर्ता गर्नसमेत समस्या भइरहेको गुनासो व्यवसायीहरूबाट आएको छ। यस्तो अवस्थाले समाजमा दण्डहीनता बढ्ने र लगानीको वातावरणमा गम्भीर चुनौती थपिने महासंघको भनाइ छ। “घटनाका दोषीहरूमाथि जाहेरी दर्ता नलिने र कारवाहीमा उदासीनता देखिएको सदस्य व्यवसायीहरुबाट जानकारी प्राप्त भैरहेको छ, र यस्तो अवस्था कायम रहे यसले दण्डहीनता बढ्न गइ लगानीको वातावरणलाई गम्भीर चुनौती दिने देखिन्छ,” महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसले रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवर्द्धन र समग्र अर्थतन्त्रमा नै दीर्घकालीन असर पार्ने चेतावनीसमेत महासंघले दिएको छ।

सुरक्षा समितिमा निजी क्षेत्रको प्रतिनिधित्वको माग

निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि महासंघले केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरेको छ। यसका लागि महासंघले गृहमन्त्रालयमा औपचारिक पत्राचार गरिसकेको छ। जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यावसायिक समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न महासंघले समितिमा आफ्नो र सदस्य संघहरूको सहभागिताका लागि आग्रह गरेको हो।

स्थिरता र दण्डहीनता अन्त्यको अपरिहार्यता

आइतबार महासंघका पदाधिकारी, स्थायी समिति तथा समिति/फोरमका सभापतिहरू सम्मिलित छलफलमा कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले शान्ति सुरक्षा नभई स्थायित्व नहुने र स्थायित्व नभई उद्यम व्यवसाय सञ्चालन हुन नसक्नेमा जोड दिए। उनले दण्डहीनताको अन्त्य गरी भविष्यमा पनि उद्यम व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गर्नुपर्ने बताए।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक गतिविधिलाई दिगो रूपमा अगाडि बढाउन, लगानीको वातावरण विश्वसनीय बनाउन तथा निजी क्षेत्र आत्मविश्वासपूर्वक क्रियाशील रहन सक्ने अवस्था सिर्जना गर्न सरकारको सक्रियता अपेक्षा गरिएको बताए। उनले अहिलेको अवस्थामा शान्ति सुरक्षा कायम गरी स्थायित्वतर्फ लैजान र उद्योगी व्यवसायीहरूको मनोबल उठाउने तर्फ सरकारको ध्यान जान आवश्यक रहेको औंल्याए।

छलफलमा सहभागीहरूले देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण हिस्सा राख्ने निजी क्षेत्रमाथिको आक्रमणले उद्यमी व्यवसायी निरुत्साहित भएको भन्दै यस अवस्थामा उद्यमी व्यवसायीले निर्वाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्पूर्ण सम्बन्धित सरोकारवालाहरूको ध्यानाकर्षण गराएका थिए ।

यस छलफलमा महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्यसहित स्थायी समिति तथा समिति/फोरमका सभापतिहरू सहभागी थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री