परिवर्तन पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकआस्थाको महान् पर्व छठका अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले यस पर्वले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावनालाई अझ सुदृढ गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

आज जारी गरिएको शुभकामना सन्देशमा प्रचण्डले समृद्ध, न्यायपूर्ण र समाजवादी नेपाल निर्माणका लागि सबै मिलेर अघि बढ्न सकिने विश्वास व्यक्त गरेका छन् । उनले वर्तमान चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देशको महत्त्व झनै बढेको औंल्याएका छन् ।

प्रचण्डले छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अन्धकारलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस् भन्दै देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाउने हार्दिक कामना गरेका छन् ।

विशेष गरी मधेश-तराईको मुख्य चाडका रूपमा मनाइने छठ पर्व हाम्रो संस्कृति, परम्परा, श्रम-सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको छ । यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने विश्वास गरिन्छ । यस पर्वमा सूर्यदेवको आराधना गरी आरोग्य, सन्तान प्राप्ति र समृद्धिको कामना गरिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री