काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’ को संज्ञा दिँदै यसलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेकी छन् । छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई ऐतिहासिक जिम्मेवारीका रूपमा लिन आग्रह गरेकी हुन् ।
सन्देशमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपश्चात् उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेकोमा जोड दिएकी छन् । उनले सबै राजनीतिक दल र सरोकारवालाहरूलाई परिस्थितिको संवेदनशीलता बुझ्न तथा आ-आफ्नो जिम्मेवारी बोध गरी निर्वाचन सफल पार्न एकजुट हुन आह्वान गरेकी छन् ।
प्रधानमन्त्रीले सडक प्रदर्शन मात्र समस्याको समाधान नभएको स्पष्ट पार्दै भनिन्, ‘आफ्ना कुनै अडान वा असन्तुष्टि भए पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो ।’
छठ लगायतका चाडपर्वहरू सामाजिक एकता, सद्भाव र भ्रातृत्वका प्रतीक भएको उल्लेख गर्दै प्रधानमन्त्रीले वर्तमान अवस्थामा नेपालीहरूबीच अझ बढी एकता र सद्भावको खाँचो रहेको औँल्याएकी छन् । उनले पवित्र आस्था, कठिन व्रत र सिँगारिएका नदी तथा तलाउका किनारामा मनाइने छठ पर्वले सबैमा सद्भाव र खुसियाली छाओस् भन्ने कामना गरेकी छन् ।
प्रधानमन्त्रीको सन्देशमा सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले सांस्कृतिक र सामाजिक रूपमा तराई-पहाड जोड्ने सेतुको भूमिका खेलिरहेको समेत उल्लेख छ । प्रधानमन्त्रीले छठको पवित्र अवसर पारेर देशलाई निर्वाचनमय बनाउँदै सामाजिक सद्भाव कायम राख्न अपिल गरेकी छन् ।




