छठले आत्मशुद्धि र त्यागको प्रेरणा दिन्छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डिपी)अर्यालले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै यस लोक आस्थाको पर्वले नेपाली समाजमा गहिरो धार्मिक र सांस्कृतिक महत्व राखेको बताएका हुन् ।

शुभकामना सन्देशमा अर्यालले छठलाई प्रकृति, जीवन र ऊर्जाको स्रोत सूर्यको आराधना गरिने पर्वका रूपमा व्याख्या गरेका छन् । उनले चार दिनसम्म विभिन्न विधि र अनुष्ठानका साथ मनाइने यो पर्वले हामीलाई आत्मशुद्धि, त्याग र समर्पणमा प्रेरित गर्ने उल्लेख गरेका छन् । साथै, यसले सामूहिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उनको भनाइ छ । उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिएर गरिने उपासनाले जीवनमा सुख-दुःख दुवैलाई समान रूपले स्वीकार गर्ने प्रेरणा प्रदान गर्नेतर्फ पनि उनले जोड दिएका छन् ।

पछिल्ला वर्षहरूमा छठ मनाउने क्षेत्र र समुदायको विस्तारले सांस्कृतिक आदानप्रदान र हार्दिकता अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै अर्यालले विविधताबीचको एकतालाई झनै कसिलो बनाउँदै लगेकोमा खुसी व्यक्त गरे ।

कार्यवाहक सभापति अर्यालले छठको पावन अवसरमा समस्त नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको कामना गरेका छन् । उनले यस्ता पर्व विशेषबाट प्राप्त हुने प्रेरणाले सामाजिक एकताको सूत्रलाई बलियो बनाई राष्ट्र निर्माणमा थप ऊर्जा प्रदान गर्न सबैलाई उत्प्रेरित गरोस् भन्ने कामना समेत व्यक्त गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री